देशको शोधनान्तर स्थिति करिब ३ खर्ब ४ अर्ब बचतमा
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमास (असोजसम्म) शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब ७९ करोड रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६४ अर्ब ३ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८८ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ९८ करोडले बचतमा रहेको छ ।
त्यस्तै समीक्षामा चालु खाता २ खर्ब ७९ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ३८ अर्ब रुपैयाँले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६९ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८२ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा ४ अर्ब १४ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो ।




