बालेन शाह आज भारत भ्रमणमा जाँदै, मोदीसँग द्विपक्षीय वार्ता हुने
काठमाडौं । बालेन्द्र शाह (बालेन) आज दुईदिने औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, व्यापार, ऊर्जा, पूर्वाधार विकास, हवाई सम्पर्क तथा आर्थिक सहकार्यका विषयमा छलफल हुने कार्यक्रम छ ।
शाह नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत आज दिउँसो १ः४५ बजे नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनी भारतीय समयअनुसार दिउँसो ३ः४५ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत सरकारी टोली सहभागी रहनेछन्। निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको टोली पनि भ्रमणमा सहभागी हुने कार्यक्रम छ ।
भ्रमणको पहिलो दिन भारतीय विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । दोस्रो दिन अर्थात् मंसिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता हुनेछ । उक्त भेटपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता र विभिन्न समझदारी तथा सम्झौतापत्र आदानप्रदान गर्ने कार्यक्रम तय भएको छ ।
दुई प्रधानमन्त्रीबीचको वार्तामा व्यापार तथा पारवहन, ऊर्जा सहकार्य, पूर्वाधार विकास, लगानी प्रवद्र्धन, हवाई सम्पर्क र विकास परियोजनाका विषय प्राथमिकतामा रहनेछन्।
त्यसैगरी नेपालबाट भारतमा विद्युत् निर्यात विस्तार, बङ्गलादेशसम्म विद्युत् व्यापार, सीमापार पेट्रोलियम पाइपलाइन विस्तार तथा जलविद्युत् आयोजनामा लगानी र सहकार्यका विषय पनि छलफलमा समेटिनेछन्। नेपाल–भारतबीचको व्यापार घाटा न्यूनीकरण, नेपाली वस्तुको भारतीय बजारमा सहज पहुँच र भारतीय लगानी आकर्षित गर्ने विषयमा समेत छलफल हुने कार्यक्रम छ ।
भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा पूर्वाधार विकासलगायत क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ । नेपाल प्रहरी एकेडेमी, सीमापार रेलमार्ग, एकीकृत जाँच चौकी तथा पेट्रोलियम पाइपलाइन विस्तारजस्ता विकास परियोजनासँग सम्बन्धित विषय पनि भ्रमणको कार्यसूचीमा समावेश छन्। शाहले भ्रमणकै क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। राष्ट्रपति मुर्मुसँगको भेटपछि उनी मंसिर ७ गते नै स्वदेश फर्कने कार्यतालिका रहेको छ। प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो।




