हिमालय एअरलाइन्स्ले काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सुरु गर्दै
काठमाडौँ । हिमालय एअरलाइन्स्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबीच आगामी सोमबार (सेप्टेम्बर २८, २०२६) देखि नियमित सिधा उडान सेवा पुनः सुरु गर्ने भएको छ ।
उडान सेवा पुनः सुरु भएसँगै हिमालय एअरलाइन्स् काठमाडौँ–सांघाई–काठमाडौँ मार्गमा नियमित सिधा उडान सञ्चालन गर्ने एकमात्र वायुसेवा कम्पनी बन्नेछ । यससँगै नेपाल र चीनको प्रमुख विश्वव्यापी महानगरमध्ये एक सांघाईबीचको रणनीतिक रूपमा महत्वपूर्ण हवाई सम्पर्क पुनःस्थापित हुने कम्पनीको भनाई छ ।
काठमाडौँ–सांघाई–काठमाडौँ उडानले यात्रुहरूलाई नेपालको राजधानी काठमाडौँ र चीनको सबैभन्दा ठूलो शहर तथा प्रमुख विश्वव्यापी वित्तीय केन्द्र सांघाईबीच सहज र सिधा हवाई यात्रा सुविधा प्रदान गर्नेछ । काठमाडौँ–सांघाई–काठमाडौँले यात्रुलाई सुविधाजनक, सुरक्षित र प्रभावकारी यात्रा सेवा प्रदान गर्ने आफूहरुको प्रतिबद्धतालाई थप मजबुत बनाउने हिमालय एअरलाइन्सको भनाई छ ।
साथै, यसले नेपाल–चीन द्विपक्षीय सम्बन्ध तथा दुई देशका जनताबीचको सम्पर्क र आदानप्रदानलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । नेपालको मुख्य पर्यटन सिजनको सुरुवातसँगै हवाई सेवा पुनः सञ्चालन हुनुले यस रुटको रणनीतिक महत्वलाई थप बढाउने छ । यस रुटले चीनबाट नेपाल आउने पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि ल्याउनुका साथै समग्र आतिथ्य तथा पर्यटन क्षेत्रलाई समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
हिमालय एअरलाइन्स्ले प्रारम्भिक चरणमा यस रुटमा साप्ताहिक दुई उडान सञ्चालन गर्नेछ । काठमाडौं–सांघाईतर्फका उडानहरू हरेक सोमबार र शुक्रबार प्रस्थान गर्नेछन् भने सांघाई–काठमाडौं फर्कने उडानहरू हरेक मंगलबार र शनिबार सञ्चालन हुनेछन् । एअरलाइन्स्ले यात्रुको माग तथा उडानको यात्रु भारका आधारमा आगामी दिनमा उडान संख्या थप गर्ने कम्पनीले जानकारी दिएको छ ।
हिमालय एअरलाइन्स्् नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्रााष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ मा भएको थियो ।



