भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।
आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी बाढीमा परी अहिलेसम्म १ हजार ३४२ जनाको मृत्यु भइसकेको छ भने ४ हजार ९९६ जना सम्पर्कविहीन छन् ।
विनाशकारी बाढीमा परी ६ हजार ८३ जना घाइते भएका छन् र खोज, उद्धार तथा राहतका लागि २१ हजार ४६५ सुरक्षाकर्मी परिचालन भएका छन् । बाढी प्रभावित क्षेत्रबाट १३ हजार ३९१ जनाको उद्धार गरिएको छ ।

