पीएचपीमा समस्या देखिएपछि राष्ट्र बैंकदेखि बैंकहरूको वेबसाइट बन्द, जनताको पैसा र सूचना सुरक्षित रहेको राष्ट्र बैंकको दाबी
काठमाडौं । नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमका सम्बन्धमा बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।
पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका सेवासमेत अस्थायी रूपमा बन्द गरेको जनाएको छ ।
सम्भावित साइबर आक्रमणबाट प्रणाली र ग्राहकका विवरण सुरक्षित राख्न राष्ट्र बैंकसहित विभिन्न बैंक तथा वित्तीय संस्थाले आफ्ना वेबसाइट र वेबमा आधारित केही सेवा अस्थायी रूपमा बन्द गरेका छन् ।
विश्वभर वेबसाइट तथा अनलाइन प्रणाली सञ्चालनमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ प्रविधिमा गम्भीर सुरक्षा कमजोरी देखिएपछि नेपालको बैंकिङ क्षेत्रमा समेत त्यसको प्रभाव देखिएको हो ।
प्रविधिमा देखिएको जोखिमलाई ध्यानमा राख्दै बैंकहरूले प्रणालीको सुरक्षा परीक्षण, प्राविधिक सुधार र सम्भावित अनधिकृत पहुँच नियन्त्रणका उपाय अघि बढाएका छन्।
जोखिमको प्रकृति र आफ्नो प्रणालीको अवस्थाअनुसार बैंकहरूले फरक–फरक सेवा बन्द गरेका छन्। कतिपयले आधिकारिक वेबसाइट नै बन्द गरेका छन् भने केहीले निश्चित अनलाइन पोर्टल तथा डिजिटल सेवामा रोक लगाएका छन्।
राष्ट्र बैंकले कात्तिक ६ गते आज शुक्रबार जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत बैंक तथा वित्तीय संस्थाहरूको सर्भरमा प्रयोग भइरहेका प्रणालीको सुरक्षा सवलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन बैंक तथा वित्तीय संस्थाको ध्यान आकर्षण गरेको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँगै भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र विप्रेषण कम्पनीहरूलाई समेत सम्भावित साइबर जोखिमबाट जोगिन आवश्यक सुरक्षा उपाय अपनाउन भनेकोे छ।
सेवाहरू अस्थायी रूपमा बन्द गरिएपछि राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीका लागि बैंकका आधिकारिक सामाजिक सञ्जालमार्फत सम्पर्कमा रहन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।
राष्ट्र बैंकले सेवा बन्द हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमायाचना पनि गरेको छ ।





