म्याक्सस नेपालले बाढीपीडितका लागि ७० लाख रुपैयाँ सहयोग गर्ने
काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गतको म्याक्सस नेपालले भाद्र १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायका लागि ७० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
कम्पनीले चीनको एसएआईसी म्याक्सस अटोमोटिभसँगको समन्वयमा उक्त सहयोग गर्ने जनाएको हो। जसमध्ये ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिनेछ भने २० लाख रुपैयाँ बराबरको अत्यावश्यक राहत सामग्री खरिद गरी प्रभावित क्षेत्रमा वितरण गरिनेछ।
राहत सामग्री सामाजिक संस्था तथा स्थानीय सरकारसँगको समन्वयमा बाढीबाट बढी प्रभावित र तत्काल सहयोग आवश्यक रहेका क्षेत्रमा वितरण गरिने कम्पनीले जनाएको छ।
सहयोग रकम हस्तान्तरण तथा राहत सामग्री वितरणको मिति र विस्तृत कार्यतालिका आवश्यक तयारी तथा समन्वयपछि सार्वजनिक गरिने म्याक्सस नेपालले जनाएको छ। कम्पनीले विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायसँग उभिनु आफ्नो सामाजिक उत्तरदायित्व भएको बताएको छ।


