भोटेकोशी–त्रिशुली बाढी अपडेट: १६५ जनाको शव फेला, ८२६ सम्पर्कविहीन, उद्धार कार्य तीव्र
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण हालसम्म १६५ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ११:०० बजे सार्वजनिक गरेको तथ्याङ्क अनुसार, बाढी र पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ ।
शव भेटिनेहरूमा सबैभन्दा धेरै चितवनका ६४ जना रहेका छन् भने धादिङका २७, नवलपरासी पूर्वका २६, गोरखाका २०, नुवाकोटका १२, तनहुँका ९, नवलपरासी पश्चिमका ५ र रसुवाका २ जना रहेका छन् ।
प्राधिकरणका अनुसार बाढीमा परी अझै ८२६ जना सम्पर्कविहीन रहेका छन् । बेपत्ता हुनेहरूमा ५७९ जना पर्यटक रहेका छन् ।
यसैगरी, नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४ र सशस्त्र प्रहरी बलका १३ जना सुरक्षाकर्मी पनि सम्पर्कविहीन छन् ।
रसुवाबाट १६१ र नुवाकोटबाट १ जना स्थानीय बासिन्दा बेपत्ता भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । घटनामा ७३ जना घाइते भएका छन्, जसमध्ये रसुवाका ४३, नुवाकोटका २७ र धादिङका ३ जना रहेका छन् ।
उद्धार कार्यका लागि सरकारले ७ हजार ४५१ सुरक्षाकर्मी परिचालन गरेको छ । जसमा नेपाल प्रहरीका ३,३१८, नेपाली सेनाका २,३९१ र सशस्त्र प्रहरी बलका १,७४२ जना खटिएका छन् । हवाई मार्गबाट हालसम्म ३०५ जनाको उद्धार गरिएको छ ।
आज बिहान १०:३० बजेसम्म ३७ वटा हवाई उडान भइसकेका छन् भने ११:१५ बजेदेखि ११ वटा हेलिकप्टरहरू निरन्तर उद्धारमा संलग्न छन् । त्यसैगरी, आज बिहान मात्रै जमिनबाट ६३ जनाको सकुशल उद्धार गरिएको छ ।
राहत र पुनर्स्थापनाका लागि सरकारले तत्काल नगद सहयोगको घोषणा गरेको छ । रसुवा र नुवाकोट जिल्लालाई १-१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ । प्रभावित क्षेत्रमा चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस र ब्ल्याङ्केट जस्ता सामग्री बोकेका १० वटा ट्रक पठाइएको छ भने सञ्चार सेटहरू पनि वितरण गरिएको छ ।
यसैबीच, उद्धार कार्यलाई निरन्तरता दिन इन्धनको व्यवस्थापन मिलाइएको छ । नुवाकोटको डिपोमा मौज्दात रहेको इन्धनका अतिरिक्त आज १५ हजार लिटर डिजेल र १५ हजार लिटर पेट्रोल थप पठाइएको छ ।
हवाई इन्धनको अभाव हुन नदिन ९ हजार लिटर थप इन्धन पठाइएको प्राधिकरणले जनाएको छ ।


