‘बतास हायर पर्चेज’ बन्यो ‘नियोफिन हायर पर्चेज’
काठमाडौँ । बतास हायर पर्चेज प्रालिले आफ्नो ब्रान्ड नाम परिवर्तन गरी ‘नियोफिन हायर पर्चेज’ बनाएको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त गैरबैंकिङ वित्तीय संस्था व्यावसायिक घराना केडिया अर्गनाइजेसनको स्वामित्वमा रहेको कम्पनीले डिजिटल प्रविधिमा आधारित आधुनिक गैरबैंकिङ वित्तीय संस्था रूपमा नयाँ यात्रा सुरु गरेको हो।
२०६० सालमा पोखरामा दर्ता कम्पनीले २०७१ मा राष्ट्र बैंकबाट हायर पर्चेज कर्जा प्रवाहको इजाजतपत्र प्राप्त गरेको थियो।
२०८१ चैत्रमा केडिया अर्गनाइजेसनले कम्पनीको शतप्रतिशत स्वामित्व लिएपछि यसलाई प्रविधिसैत्री फिनटेक एकाइका रूपमा रूपान्तरण गरिएको हो। २४० करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरिसकेको यस संस्थाका नेपालभर ७५ हजारभन्दा बढी ग्राहक र ४ हजारभन्दा बढी मर्चेन्ट साझेदार भइसकेका छ।
नियोफिनले सवारी साधन, स्मार्टफोन, इलेक्ट्रोनिक्स तथा अन्य उपभोग्य वस्तु खरिदका लागि ६ देखि ८४ महिनासम्मको लचिलो किस्ताबन्दी योजना, प्रतिस्पर्धी ब्याजदर र द्रुत कर्जा स्वीकृति सेवा प्रदान गर्ने जनाएको छ।
कम्पनीले कर्जा स्वीकृति प्रक्रियालाई केही मिनेटमै सम्पन्न गर्ने डिजिटल प्रविधि, सेवा, मोबाइल एप तथा अनलाइन कर्जा आवेदन जस्ता सुविधाहरू सञ्चालनमा ल्याएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद तिम्सिनाका अनुसार नियोफिनमा भएको यो रूपान्तरण नाम परिवर्तन मात्र नभई डिजिटल दक्षता, जवाफदेही पूर्ण कर्जा प्रवाह र समावेशी वित्तीय पहुँचप्रतिको दीर्घकालीन प्रतिबद्धता हो।
केडिया अर्गनाइजेसनअन्तर्गत सिद्धार्थ बैंक, सिद्धार्थ क्यापिटल, र सानिमा रिलायन्स लाइफ जस्ता संस्थाहरूको संस्थागत अनुभव र अनुशासनले नियोफिनको नयाँ यात्रालाई थप पारदर्शी र सुदृढ बनाउने कम्पनीले विश्वास व्यक्त गरेको छ।


