भैरहवाबाट हवाई रुट दिन भारत सहमत
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा भैरहवाको हवाई रुट (एयर रुट) लाई दुईतर्फी बनाउन भारत सहमत भएको छ। नेपालको दशक लामो कूटनीतिक र प्राविधिक प्रयासपछि सोमबार नयाँ दिल्लीमा दुई देशबीच यो महत्वपूर्ण सहमति जुटेको हो।
प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको द्विपक्षीय उच्चस्तरीय वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्तिमा हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको ‘बी–३४५’ (काठमाडौं–भैरहवा–लखनउ) हवाई रुटलाई दुईतर्फी बनाउने उल्लेख छ। यसअघि काठमाडौंबाट उड्ने अन्तर्राष्ट्रिय जहाजहरू भैरहवा हुँदै बाहिरिन पाउँथे तर भारतीय आकाश हुँदै नेपाल भित्रिने जहाजहरूले सिमराको रुट मात्र प्रयोग गर्नुपर्ने बाध्यता थियो।
सहमति कार्यान्वयन र प्राविधिक पक्षसंयुक्त विज्ञप्तिअनुसार यो रुटलाई दुईतर्फी रूपमा सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया र प्राविधिक व्यवस्थालाई अन्तिम रूप दिन दुवै देशका नागरिक उड्डयन अधिकारीहरूबीच छिट्टै प्राविधिक परामर्श गरिनेछ। साथै, छलफलमा रहेका नागरिक उड्डयनसम्बन्धी अन्य प्रस्तावहरूलाई पनि सोही परामर्शमार्फत सम्बोधन गरिने सहमति भएको छ। भ्रमणका क्रममा भारतले आफ्नो बागडोगरा विमानस्थलका लागि नेपालसँग एयरस्पेस मागेको विषयमा समेत छलफल भएको थियो, जसमा अध्ययनपछि निर्णय लिइने नेपाली पक्षले जनाएको छ।
नेपाललाई हुने फाइदा
विमानस्थल सञ्चालनमा सहजता: पूर्ण क्षमतामा सञ्चालन हुन नसकिरहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न यो सहमतिले ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ।
हवाई भाडा र समयमा बचत: पश्चिम दिशा (मध्यपूर्व तथा युरोप) बाट नेपाल आउने जहाजहरूले सिमरासम्म फन्को मार्नुपर्ने बाध्यता हट्ने भएकाले उडान दूरी, इन्धन र समय बचत भई हवाई भाडासमेत घट्ने विश्वास लिइएको छ।
यसअघिका प्रधानमन्त्रीहरूको भारत भ्रमणमा पनि नेपालले भैरहवा, नेपालगन्ज र महेन्द्रनगरबाट हवाई प्रवेश बिन्दु (इन्ट्री रुट) माग गर्दै आएको थियो। भारतले सुरक्षा संवेदनशीलता देखाउँदै अस्वीकार गर्दै आएकोमा यसपटक भैरहवा रुटमा सहमति जुटेको हो। यद्यपि, महेन्द्रनगर र जनकपुरको हवाई रुटबारे भने अझै सहमति जुट्न बाँकी छ।




