सिटिजन्स सदाबहार योजनाको अनलाइन दर्ता तथा कारोबार प्रणाली सञ्चालन
काठमाडौँ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित खुलामुखी योजना “सिटिजन्स सदाबहार योजना” का लागि अनलाइन दर्ता तथा कारोबार प्रणाली आजदेखि सञ्चालनमा आएको छ।
सिटिजन्स क्यापिटल लिमिटेड, योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक रहेको यस योजनामा लगानीकर्तालाई थप सहज, छिटो तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले प्रणाली सञ्चालनमा ल्याइएको हो।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त यस योजनामा अब लगानीकर्ताहरूले अनलाइन माध्यम (https://sip.citizenscapital.com.np/) मार्फत विभिन्न सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
नयाँ प्रणालीमार्फत लगानीकर्ताले २४ सै घण्टा तथा सातै दिन सेवा उपभोग गर्न सक्ने व्यवस्था गरिएको छ। यसले भौगोलिक दूरी वा कार्यालय समयको सीमाबिना सेवा पहुँचलाई सहज बनाउने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार प्रणालीमार्फत लगानीकर्ताले निम्न सेवाहरू प्राप्त गर्न सक्नेछन्:
योजनाको इकाई खरिदका लागि आवेदन तथा रकम भुक्तानी
व्यवस्थित लगानी योजनामा दर्ता
SIP किस्ता भुक्तानी
लाभांश पुनः लगानी योजनामा आबद्धता
अनलाइन साइनअप तथा लगइन सुविधा
लगानी प्रक्रिया थप सरल र सुरक्षित हुने अपेक्षा
कम्पनीले अनलाइन प्रणालीमार्फत लगानी प्रक्रिया अझ छिटो, सुरक्षित, पारदर्शी र प्रयोगकर्ता–मैत्री बन्ने विश्वास व्यक्त गरेको छ। यसले पूँजी बजारमा नागरिकको सहभागिता बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
सिटिजन्स क्यापिटल लिमिटेडले डिजिटल वित्तीय सेवाको विस्तारलाई आफ्नो प्रमुख रणनीति बनाउँदै लगानीकर्तालाई आधुनिक र सहज सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
कम्पनीका अनुसार “नेपालको प्रत्येक घरमा व्यवस्थित लगानीको पहुँच” विस्तार गर्ने लक्ष्यअनुसार SIP लगायतका योजनाहरूलाई अझ पहुँचयोग्य र पारदर्शी बनाइँदै लगिनेछ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको यस संस्थामा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरूको समेत लगानी रहेको छ। कम्पनीको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ रहेका छन्।


