‘इन्फोसिस फिनाकल इन्नोभेसन अवार्ड २०२६’मा कुमारी बैंकले पायो अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान
काठमाडौं । ‘इन्फोसिस फिनाकल इन्नोभेसन अवार्ड २०२६’ कार्यक्रममा कुमारी बैंकले अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान पाएको छ । बैंकले ‘इन्फोसिस फिनाकल इन्नोभेसन अवार्ड २०२६’ अन्तर्गत व्यावसायिक मोडेल नवप्रवर्तनतर्फ उच्च तहको अवार्ड ‘प्ल्याटिनम’ प्राप्त गर्न सफल बनेको हो ।
बैंकले कार्यान्वयन गरेको ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया (केवाईसी वर्कफ्लो कम्प्लायन्स) सम्बन्धी उल्लेखनीय पहलका लागि उक्त सम्मान प्रदान गरिएको हो ।
इन्फोसिस फिनाकलद्वारा प्रत्येक वर्ष आयोजना गरिने यो अवार्ड कार्यक्रम विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूका उत्कृष्ट नवप्रवर्तन र रूपान्तरणका अभ्यासहरूको कदर गर्न सञ्चालन हुँदै आएको छ ।
यस वर्ष ९ विधामा ५०० भन्दा बढी आवेदन परेका थिए, जसबाट कुमारी बैंकले आफ्नो केवाईसी कार्यप्रवाह अनुपालन प्रणालीमार्फत उत्कृष्ट प्रदर्शन गर्दै प्ल्याटिनम सम्मान प्राप्त गरेको हो । उक्त प्रणालीले ग्राहक पहिचान प्रक्रियालाई छरितो, सुरक्षित र प्रभावकारी बनाउनुका साथै नियामकीय मापदण्डहरूको कडाइका साथ पालना गर्न सहयोग पुर्याएको छ । साथै, डिजिटल प्रविधिको उपयोगमार्फत सेवा प्रवाहलाई थप पारदर्शी र भरोसायोग्य बनाउन योगदान पुगेको बैंकले जनाएको छ ।
यस अन्तर्राष्ट्रिय सम्मानसँगै कुमारी बैंकले नवप्रवर्तनमार्फत सुरक्षित, भरपर्दो र ग्राहककेन्द्रित बैंकिङ सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता थप सुदृढ बनाएको छ । बैंकले आगामी दिनहरूमा डिजिटल समाधान विस्तार गर्दै ग्राहकलाई अझ सहज, विश्वसनीय र उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्न निरन्तर प्रयास गर्ने जनाएको छ ।


