हुवावेले नेपालमा सार्वजनिक गर्यो ‘हुवावे वाच फिट ५’, यस्ता छन् विशेषता
काठमाडौं । कल मोबिलिटी प्रालि(हुवावे)ले नेपालमा नयाँ ‘हुवावे वाच फिट ५’सहित चार उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले ती उत्पादनलाई देशकै पहिलो ‘मर्निङ फिट्नेस क्लब पार्टी’ तथा त्यसपछिको ५ किलोमिटर दौड कार्यक्रममार्फत औपचारिक रूपमा सार्वजनिक गरेको हो ।
यो विशेष कार्यक्रमले फिट्नेसप्रेमी, स्वास्थ्य सचेत व्यक्तित्व, कन्टेन्ट क्रिएटर तथा प्रविधिप्रेमीहरूलाई एकै ठाउँमा ल्याएर व्यायाम, संगीत र नवीन प्रविधिको अनुपम अनुभव प्रदान गर्यो ।
मेल्टडाउनसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रम ठमेलस्थित क्लब नोभामा सम्पन्न भएको थियो । कार्यक्रमस्थललाई फिट्नेस र लाइफस्टाइलको आकर्षक केन्द्रका रूपमा रूपान्तरण गरिएको थियो, जसले हुवावे वाच फिट ५ को सक्रिय, स्टाइलिस र आधुनिक जीवनशैलीलाई झल्काउने विशेषतालाई प्रतिविम्बित गरेको थियो ।
स्टाइलमा कुनै सम्झौता नगरी सक्रिय जीवनशैली अपनाउन चाहने प्रयोगकर्तालाई लक्षित गरी डिजाइन गरिएको हुवावे वाच फिट ५ ले आकर्षक, हलुका र आधुनिक डिजाइनसँगै उन्नत स्वास्थ्य तथा फिट्नेस ट्र्याकिङ सुविधाहरू प्रदान गर्ने कम्पनीको दाबी छ । स्ट्र्यापबाहेक करिब २७ ग्राम मात्र तौल भएको र ९.५ मिमि पातलो डिजाइनमा उपलब्ध यो स्मार्ट वाच दिनभर लगाउन सहज र आरामदायी छ ।
यसमा रहेको १.८२ इन्चको एमोलेड डिस्प्लेले अधिकतम २,५०० निट्ससम्मको ब्राइटनेस प्रदान गर्दछ, जसले गर्दा कडा घाममा पनि नोटिफिकेसन, स्वास्थ्यसम्बन्धी जानकारी तथा वर्कआउट डाटा सजिलै हेर्न सकिन्छ ।
हुवावे वाच फिट ५ मा रहेको मिनी–वर्कआउट एसिस्टेन्टले केही मिनेटमै शरीरलाई पुनः ऊर्जावान बनाउन मद्दत गर्दछ । यसमा घाँटी, काँध, ढाड लगायत शरीरका १० विभिन्न भागहरू लक्षित ३० वटा छोटा तथा निर्देशित व्यायामहरू समावेश छन्, जसका लागि कुनै अतिरिक्त उपकरण आवश्यक पर्दैन ।
व्यस्त जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको यस स्मार्ट वाचले हल्का प्रयोगमा १० दिनसम्म, सामान्य प्रयोगमा ७ दिनसम्म तथा अल्वेज अन डिसप्ले सक्रिय हुँदा ४ दिनसम्म ब्याट्री ब्याकअप प्रदान गर्दछ । वायरलेस चार्जिङ सुविधासहित उपलब्ध यस डिभाइसमा ब्लुटुथ तथा एनएफसी सपोर्ट पनि रहेको छ ।
एन्ड्रोइड ९.० वा सोभन्दा माथिका तथा आईओएस १३.० वा सोभन्दा माथिका स्मार्टफोनहरूसँग सहज रूपमा काम गर्ने हुवावे वाच फिट ५ ले प्रयोगकर्ताको दैनिक जीवनलाई अझ स्मार्ट बनाउँछ । यसमा रहेको इनबिल्ट स्पिकर र माइक्रोफोन मार्फत अझ सुविधाजनक वेयरेबल अनुभव प्राप्त गर्न सकिन्छ ।
स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस स्मार्ट वाचमा उन्नत अप्टिकल हार्ट रेट सेन्सरसहित विभिन्न स्वास्थ्य तथा गतिविधि मापन गर्ने सेन्सरहरू समावेश छन् । यसमा एक्सेलेरोमिटर, गिरोस्कोप, म्याग्नेटोमिटर, एम्बियन्ट लाइट सेन्सर, ब्यारोमिटर तथा टेम्परेचर सेन्सरजस्ता अत्याधुनिक सेन्सरहरू उपलब्ध छन् ।


