‘घर जग्गा उद्योगलार्य सुरक्षित र व्यवस्थित बनाउन स्पष्ट ‘लाइसेन्स प्रणाली’ लागू गर्नुपर्ने ‘
काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा राष्ट्रिय आर्थिक गणना २०८२ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
मंगलबार आयोजित कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेसहित महासंघका पदाधिकारीलगायत २० जना प्रतिनिधिको सहभागिता रहेको थियो।
कार्यक्रम राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेको उपस्थितिमा सम्पन्न भएको हो।
कार्यक्रममा राष्ट्रिय आर्थिक गणना २०८२ सम्बन्धी प्रस्तुति निर्देशक डा. बेद प्रसाद ढकालले प्रस्तुत गरेका थिए । भने कार्यक्रमको सञ्चालन तथ्याङ्क अधिकृत दीनानाथ लम्सालले गरेका थिए ।
कार्यक्रममा उपप्रमुख तथ्याङ्क अधिकारी लामिछानेले आर्थिक गणनाबारे स्पष्ट पार्दै कुनै पनि प्रकारको बलजफ्ती वा डर–त्रासको वातावरण सिर्जना नगरी पूर्ण विश्वासमा लिएर मात्र गणना गरिएको बताए । उनले व्यवसायीहरूले उपलब्ध गराउने तथ्याङ्क पूर्ण रूपमा गोप्य रहने तथा व्यक्तिगत विवरण कुनै पनि प्रमाणका रूपमा प्रयोग नगरिने विश्वास दिलाए ।
उनले गणनाबाट उद्योग तथा व्यवसायको हितका लागि गुणस्तरीय तथ्याङ्क तयार हुने उल्लेख गर्दै यो क्षेत्र अर्थतन्त्रमा योगदान गर्ने तेस्रो ठूलो क्षेत्र रहेको बताए । महासंघको सहयोगबिना पूर्ण तथ्याङ्क संकलन सम्भव नहुने भन्दै कार्यालय महासंघसँग सहकार्य गर्न तयार रहेको समेत उनले जानकारी दिए ।
त्यसैगरी, महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले बजारलाई सुरक्षित र व्यवस्थित बनाउन स्पष्ट ‘लाइसेन्स प्रणाली’ लागू गर्नुपर्नेमा जोड दिए ।
नीति कार्यान्वयनका क्रममा केही उत्साह र केही अन्योल देखिन सक्ने भए पनि क्षेत्रलाई सुरक्षित बनाउन ठोस नीतिको आवश्यकता रहेको उनको भनाइ थियो।
अध्यक्ष घिमिरेले महासंघ गणनामा पूर्ण सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै महासंघमा आबद्ध प्रतिष्ठानहरूको विवरण उपलब्ध गराउने, भिडियो सन्देश जारी गर्ने तथा ५४ जिल्लामा सहयोगका लागि पत्राचार गर्ने प्रतिबद्धता व्यक्त गरे ।


