डिजिटल कृषि साथी ‘सुपर कृषक’ अब एन्ड्रोइड र आईफोन दुवैमा
काठमाडौं। नेपालका कृषकलाई कृषि ज्ञान, सूचना र डिजिटल परामर्श सेवा सहज रूपमा उपलब्ध गराउँदै आएको सुपर कृषक मोबाइल एप अब एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ।
एपको आईओएस संस्करण सार्वजनिक भएसँगै अब प्रयोगकर्ताले एप्पल एप स्टेर बाट ‘सुपर कृषक ‘ खोजेर डाउनलोड गर्न सक्नुहुनेछ।
विगत तीन वर्षदेखि डिजिटल कृषि सेवामा सक्रिय सुपर कृषकले हालसम्म ४० हजारभन्दा बढी कृषक, कृषि उद्यमी र कृषि क्षेत्रमा रुचि राख्ने प्रयोगकर्तासम्म आफ्नो सेवा पुर्याइसकेको जनाएको छ। यसअघि एन्ड्रोइड प्रयोगकर्तामाझ उपलब्ध रहेको एप अब आईओएसमा पनि विस्तार भएपछि कृषि सूचना तथा परामर्श सेवाको पहुँच अझ फराकिलो हुने अपेक्षा गरिएको छ।
सुपर कृषकका अनुसार प्रयोगकर्ताबाट प्राप्त सुझाव, कृषक समुदायको माग र सबै प्रकारका स्मार्टफोन प्रयोगकर्तासम्म डिजिटल कृषि सेवा पुर्याउने उद्देश्यले आईओएस संस्करण सार्वजनिक गरिएको हो।
सुपर कृषक केवल मोबाइल एप मात्र नभई कृषकको दैनिक कृषि निर्णयमा सहयोग गर्ने डिजिटल कृषि साथीका रूपमा विकास गरिएको प्लेटफर्म हो। एपमार्फत कृषकले कृषि तालिम सामग्री, एआई मा आधारित बाली रोग तथा कीरा पहिचान सेवा ‘कृषि डाक्टर’, व्यक्तिगत कृषि परामर्श, मौसम पूर्वानुमान, बजार मूल्यलगायतका सेवा प्राप्त गर्न सक्नुहुनेछ।
एन्ड्रोइड र आईफेन दुवैमा उपलब्ध भएपछि अब कृषकले प्रयोग गर्ने मोबाइलको प्रकारले डिजिटल कृषि सेवामा पहुँच सीमित नहुने कम्पनीको भनाइ छ। यसले देशका विभिन्न भूभागमा रहेका कृषकलाई आधुनिक कृषि प्रविधि, समयमै सूचना र व्यवहारिक परामर्शसँग जोड्न सहयोग पुर्याउने विश्वास लिइएको छ।
सुपर कृषकले हरेक कृषकसम्म कृषि ज्ञान पुर्याउने, हरेक खेतसम्म प्रविधि पुर्याउने र कृषकलाई अझ सक्षम बनाउने आफ्नो प्रतिबद्धता आईओएस विस्तारसँगै थप सशक्त भएको जनाएको छ। अब सुपर किसान एप गुगल प्ले स्टाेर र एप्पल प्ले स्टाेर दुवैमा उपलब्ध छ।


