साल्ट ट्रेडिङ्ग कर्पोरेशनले लाभांश पारित गर्न बोलायो साधारण सभा
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।
कम्पनीले जेठ २९ गते, शुक्रबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ५९ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्न, ऋण सुविधा लिने स्वीकृती उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ १३ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


