चेम्बर अफ कमर्ससँगको सहकार्यमा ‘इन्टरनेशनल आयुष कन्क्लेभ’ काठमाडौँमा हुँदै
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा भारतस्थित काउन्सिल फर इन्टिग्रेटिभ वैद्य इनोभेसन एण्ड कोलाबरेशनले “इन्टरनेशनल आयुष कन्क्लेभ” आयोजना गर्ने भएको छ। कन्क्लेभको चौथो संस्करण आगामी जुन १२ देखि १४ सम्म काठमाडौंमा आयोजना हुने भएको हो।
आयोजकका अनुसार कार्यक्रममा वैज्ञानिक सत्र, अनुसन्धानमा आधारित प्रस्तुति तथा अन्तर्राष्ट्रिय ज्ञान आदानप्रदानलाई विशेष प्राथमिकता दिइनेछ। आयुष क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई आयुष लेजेन्डरी अवार्ड, आयुष एक्सिलेन्स अवार्ड, आयुष राइजिङ अवार्ड तथा आयुष इन्टरप्राइज अवार्ड प्रदान गरी सम्मान गरिनेछ।
त्यसैगरी, आयुष चिकित्सकहरूको एकै मञ्चमा सबैभन्दा ठूलो क्लिनिकल डायग्नोसिस सत्र सञ्चालन गरी ‘लेजेन्ड्स वल्र्ड रेकर्ड’ कायम गर्ने प्रयास पनि गरिने जनाइएको छ।
कन्क्लेभमा आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, युनानी, सिद्ध र होमियोप्याथीलगायत विभिन्न आयुष प्रणालीलाई एउटै मञ्चमा प्रस्तुत गरिनेछ। सहभागीहरूले स्वास्थ्य अभ्यासमा कृत्रिम बुद्धिमत्ता (एआई) तथा आधुनिक प्रविधिको प्रयोगबारे पनि जानकारी प्राप्त गर्नेछन्।
कार्यक्रमको मुख्य उद्देश्य आयुष प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु र चिकित्सकहरूलाई भविष्यउन्मुख प्रविधिसँग परिचित गराउनु रहेको आयोजकले जनाएको छ।
नेपाल चेम्बर अफ कमर्सका ट्रेड फेयर समितिका सभापति राष्ट्रभूषण चाकुबजीका अनुसार भारतका २० भन्दा बढी राज्यसहित १० भन्दा बढी देशबाट २०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
यसअघि यस्तै प्रकारका आयुष कन्क्लेभ भारतको आग्रा, गोवा र जयपुरमा सफलतापूर्वक सम्पन्न भइसकेका थिए भने नेपालमा पहिलो पटक आयोजना हुन लागेको हो।


