स्कुल बस निर्देशिका कार्यान्वयन गर्न निर्देशन
चितवन । भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले महानगर क्षेत्रमा सञ्चालित स्कुल बसको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण गरेको थियो ।
तीन दिन लगाएर गरिएको परीक्षणका क्रममा निर्देशिका कार्यन्वयन नभएको पाइएपछि स्कुल बसलाई तत्काल स्कुल बस निर्देशिका, २०७४ कार्यान्वयनका लागि निर्देशन दिइएको हो ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार बजार क्षेत्रमा सञ्चालित विद्यालयका १४४ वटा बसको यान्त्रिक परीक्षण गरिएको थियो । सो क्रममा नियमिति मर्मत नभएका, चक्काको टायर नियमानुसार परिवर्तन नगरिएकोलगायत समस्या पाइएको उनले बताए ।
निर्देशिका अनुसार बसमा फोहर फाल्ने डस्टबिन तथा अग्नि नियन्त्रण यन्त्र नभएको, प्राथमिक उपचारका लागि सामग्री नभएको पाइएपछि ती बसलाई तत्काल निर्देशिका कार्यान्वयनका लागि निर्देशन दिइएको प्रहरी निरीक्षक थापाले बताए ।
कार्यालयले यही वैशाख २३ देखि २५ गतेसम्म विद्यालयका बसको यान्त्रिक परीक्षण तथा सवारी चालकको स्वास्थ्य परीक्षण गरेको थियो । सो क्रममा २५० जना सवारीचालक तथा परिचालकको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयले सोही क्रममा महानगरभित्र रहेका विद्यालयका बसको वायुप्रदूषणको अवस्थासमेत परीक्षण गरेको थियो । विद्यालयले सञ्चालनमा ल्याएका पुराना २५ वटा बसको वायुप्रदूषण मापन गरिएकामा आठ वटाले धुवाँ उत्सर्जन गरेको पाइएको थापाले जानकारी दिए । रासस


