नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ७ हजार ३९ प्रतिनिधिद्वारा मतदान
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुल ७ हजार ३१७ मतदातामध्ये ७ हजार ३९ जना महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन्।
उपलब्ध तथ्यांकअनुसार कुल मतदातामध्ये करिब ९६.२० प्रतिशत प्रतिनिधिले मतदान गरेका छन्। कुल मतदातामध्ये २७८ जनाले मतदान नगरेको देखिन्छ।
महाधिवेशनमा प्रतिनिधिहरूको उल्लेख्य सहभागिताले पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासमा प्रतिनिधिहरूको सक्रियता झल्काएको छ।
कांग्रेसको १५औँ महाधिवेशन : राष्ट्रिय सभागृहमा मतगणना हुने, सीसी क्यामेराबाट निगरानी गरिने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा हुने भएको छ। मतदान सम्पन्न भएसँगै मतगणनाका लागि तयारी अघि बढाइएको छ।
सभापति पदका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्कीबीच प्रतिस्पर्धा रहेको छ। दुवै उम्मेदवारले प्राप्त गरेको मत गणना गर्न राष्ट्रिय सभागृहमा आवश्यक व्यवस्थापनको काम भइरहेको छ।
मतगणनाका लागि तीन स्थानमा व्यवस्था मिलाइएको छ। मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्ने काम भइरहेको छ भने मतगणना सीसी क्यामेराको निगरानीमा गरिने तयारी छ।
मतगणना प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन सीसी क्यामेराको निगरानीमा गणना गर्ने व्यवस्था मिलाउन लागिएको हो। अब मतगणना सुरु भएपछि सभापति पदका उम्मेदवारहरूले प्राप्त गर्ने मतपरिणामप्रति महाधिवेशन प्रतिनिधि तथा कांग्रेसका नेता–कार्यकर्ताको चासो रहनेछ।



