बुख्याँचाले जित्यो नेपाली सेनाको प्रथम लघुचलचित्र पुरस्कार, अमर कर्तव्य दोस्रो
नेपाली सेनाले संगठन स्थापना दिवसका अवसरमा राष्ट्रिय विकास, विपद व्यवस्थापन, प्रकृति तथा पर्यावरण संरक्षण, राष्ट्रिय एकताको प्रवर्धन र अन्तर्राष्ट्रिय शान्ति कार्यमा पुर्याएको योगदानसम्बन्धी विषयमा लघुचलचित्र निर्माण गर्न आह्वान गरेको थियो । प्रतियोगिताका लागि ३४ वटा निवेदन परेकामा १० वटा स्क्रिप्ट छनोट गरी चलचित्र निर्माणका लागि सेनाले आवश्यक सहयोग र सहजीकरण गरेकामा ती तीन चलचित्र छनोट भएका हुन् । त्यस अवसरमा महाशिवरात्रि तथा सेना दिवस २०८२ का अवसरमा आयोजित नेपाली सेना फोटो प्रदर्शनीका उत्कृष्ट युनिट तथा निर्देशनालयलाई पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा शार्दुलजंग गुल्म प्रथम, सैनिक कल्याणकारी निर्देशनालय दोस्रो र प्रतिविद्रोह तथा जंगल शिक्षालय तृतीय घोषित भए । प्रधानसेनापति सिग्देलले कार्यक्रममा नेपाली सेनाद्वारा प्रकाशित सिपाही वार्षिक, २०८२ मा प्रकाशित उत्कृष्ट तीन लेखका सर्जक चन्द्रदेव भट्ट, सहायकरथी दिलविक्रम सुब्बा र महासेनानी ईश्वर बुढाथोकीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतले निर्देशनालयले नागरिकको सूचना पाउने अधिकारको सम्मान गर्दै नागरिक, सेना र संचारजगतबीच पुलका रुपमा काम गरिरहेको बताए । उनले भने, ‘आमजनतालाई सुसूचित गर्दै चेतनशील समाज निर्माणका लागि खबरदारी गर्ने संचारजगत र देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको जिम्मेवारीमा रहेको सेनाको कार्य प्रकृति फरक रहेता पनि राष्ट्रियहित र एकता दुवैको सर्वोपरी लक्ष्य हो ।’
सैनिक जनसम्पर्क निर्देशक बस्नेतले सेना र संचारजगतले हरेक तहमा साझेदारी र सहकार्य गर्दै राष्ट्रिय सुरक्षासँग संवेदनशील सूचनाको व्यवस्थापन र पारदर्शीताकासाथ सन्तुलन कायम गर्न जरुरी देखिएको बताए । सेनासम्बन्धी सही र तथ्य सूचना संप्रेषण गर्न विसं २०५८ चैत २० गते निर्देशनालयको स्थापना भएको थियो । सेनाले यस अवधिमा विभिन्न स्थानमा रक्षा समाचारदाताका लागि अभिमुखीकरण गरेको थियो। हालसम्म ६८३ जना संचारकर्मीले उक्त कार्यक्रममा सहभागी भइसकेका छन् ।



