एनआईसी एशिया बैकद्वारा ग्राहकलाई प्यान र इमेल अद्यावधिक गर्न आग्रह
काठमाडौं । एनआईसी एशिया बैकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले ग्राहकहरूको खाताबाट गरिएको करकट्टी विवरणलाई प्रचलित कानुनी व्यवस्थाअनुसार प्रणालीमा समावेश गर्न यस्तो आग्रह गरेको हो ।
बैंकका अनुसार आयकर ऐन २०५८ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभाग द्वारा सञ्चालन गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध हुन प्यान अद्यावधिक अनिवार्य छ ।
ग्राहकहरूले बैंकको आधिकारिक पोर्टल वा मोबाइल बैंकिङ एपमार्फत आफ्नो प्यान विवरण सजिलै अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ । साथै, नजिकको जुनसुकै शाखा कार्यालयमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
बैंकले निक्षेपकर्ताको ब्याज भुक्तानीमा काटिएको करलाई इ–टिडिएस रेकर्डमा प्रविष्ट गर्न प्यान आवश्यक पर्ने जनाएको छ । प्यान अद्यावधिक भएपछि ग्राहकहरूको करकट्टी विवरण सोही प्यानमा प्रविष्ट भई आयकर प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा मिलान गर्नेछ ।
यसबाट ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने र प्रमाणपत्र लिन बैंक धाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास बैंकले लिएको छ। यद्यपि, प्यान अद्यावधिक नगरेका कारण इ–टिडिएसमा कर दाखिला नभएको वा पछि समायोजन गर्नुपर्ने अवस्था आएमा त्यसप्रति बैंक जिम्मेवार नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैगरी, बैंकले ग्राहकलाई आफ्नो खातामा इमेल ठेगाना समेत अद्यावधिक गर्न आग्रह गरेको छ । ग्राहकहरूले भिडियो केवाईसी वा मोबाइल बैंकिङ एपमार्फतमा गएर चेन्ज इमेल अप्सन प्रयोग गरी आफ्नो इमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन्। आवश्यक परेमा शाखा कार्यालयमार्फत पनि यो सेवा लिन सकिने छ ।



