१० किलोभन्दा कम ‘बेकरी सर्टेनिङ’ बिक्रीमा रोक
काठमाडौं । सरकारले १० किलोभन्दा कम तौलका प्याकेटमा बेकरी सर्टेनिङको उत्पादन तथा बिक्री वितरण पूर्ण रूपमा रोक लगाएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक सूचना जारी गर्दै सम्बन्धित उद्योगहरूलाई यस्तो निर्देशन दिएको हो ।
विभागले सोमबार गरेको निर्णयानुसार अबदेखि कुनै पनि उद्योगले १० किलोभन्दा कम तौलको प्याकमा बेकरी सर्टेनिङ उत्पादन, प्याकेजिङ र बिक्री वितरण गर्न पाउने छैनन् ।
यसका साथै, सरकारले हाल बजारमा गइसकेका त्यस्ता उत्पादनहरू तुरुन्त फिर्ता गर्न पनि १५ दिने अल्टिमेटम दिएको छ ।
‘बजारमा बिक्री वितरणमा रहेको १० किलोभन्दा कम तौलको बेकरी सर्टेनिङ यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र बजारबाट फिर्ता गरी विभाग र उद्योग रहेको क्षेत्रको विभाग मातहतको कार्यालयमा जानकारी गराउनु पर्नेछ,’ सूचनामा उल्लेख छ ।
विभागको यो निर्देशनलाई अटेर गरेर सूचनाको बर्खिलाप हुने गरी कसैले सानो तौलका बेकरी सर्टेनिङ उत्पादन, प्याकेजिङ वा बिक्री वितरण गरेको पाइएमा कडा कारबाही हुने चेतावनी समेत दिइएको छ ।
नियम उल्लंघन गर्ने उद्योग वा व्यक्तिलाई ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ बमोजिम कानुनी कारबाही हुने विभागले प्रष्ट पारेको छ ।



