यस वर्ष अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने, आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित
काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४ प्रतिशतको हाराहारीमा रहने केन्द्रीय तथ्यांक कार्यालयले प्रक्षेपण गरेको छ । सरकारले वित्त नीतिमार्फत यस वर्षका लागि ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखे पनि विविध कारणले यस वर्ष आर्थिक वृद्धिमा संकुचन आउने तथ्यांक कार्यालयले जनाएको छ ।
तथ्यांक कार्यालयका अनुसार यस वर्ष उपभोक्ता मूल्यमा आधारित कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आधार ४.०१ प्रतिशतले वृद्धि हुँदै ६६ खर्ब पुग्नेछ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो जीडीपीको आकार ६१ खर्ब ९९ अर्ब थियो । यस्तै, उपभोक्ता मूल्यमा आधारित जीडीपीको आकार आर्थिक वर्ष, २०८०/८१ मा ५७ खर्ब ६० अर्ब रुपैयाँबराबर थियो ।
उसो त आर्थिक वर्षका लागि ४ प्रतिशतको आर्थिक वृद्धिदरको प्रक्षेपण गरिराख्दा विश्व बैंक, एसियाली विकास बैंकसहित अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भने सन् २०२६ मा नेपालको आर्थिक वृद्धि ३ प्रतिशत नकट्ने दाबी प्रस्तुत गरेका छन् । विश्व बैंकले यस वर्ष नेपालको आर्थिक वृद्धि २.३ प्रतिशत हाराहारी रहने दाबी प्रस्तुत गरेकोमा एसियाली विकास बैंकले २.७ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरेका छन् । विदेशी निकायहरूको प्रक्षेपणको तुलनामा सरकारको प्रक्षेपण बढी हो ।
हाल प्रकाशित राष्ट्रिय लेखाका स्थिर मूल्यका अनुमान आर्थिक वर्ष २०६७/६८ को मूल्यमा आधारित छन् । त्यसैगरी, आर्थिक वृद्धिदर मापन गर्नका लागि स्थिर मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादन प्रयोग गरिएको छ, जसअनुसार, आर्थिक वर्ष २०८२/८३ मा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.६८ प्रतिशत र उपभोक्ताको मूल्यमा ३.८५ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ ।
आधारभूत मूल्यको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८१/८२ मा ३.८० प्रतिशत हुने संशोधित अनुमान र आर्थिक वर्ष २०८०/८१ मा ३.३८ प्रतिशत कायम भएको विवरण सार्वजनिक गरिएको छ । त्यसैगरी, उपभोक्ताको मूल्यमा आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८१/८२ मा ४.४३ प्रतिशत हुने संशोधित अनुमान गरिएको छ । साथै, आर्थिक वर्ष २०८०र८१ मा ३.६८ प्रतिशत कायम भएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा कृषि क्षेत्रको १.५८ प्रतिशत र गैरकृषि क्षेत्रको ४.५४ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान छ । आर्थिक वर्ष २०८१/८२ मा कृषि क्षेत्रको वृद्धिदर ३.०५ प्रतिशत तथा गैरकृषि क्षेत्रको वृद्धिदर ४.१२ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ ।
त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ मा कृषि क्षेत्रको वृद्धिदर ३.१० प्रतिशत तथा गैरकृषि क्षेत्रको वृद्धिदर ३.४९ प्रतिशत कायम भएको छ । समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक क्षेत्र द्वितीय क्षेत्र र सेवा क्षेत्र गरी प्रमुख तीन समूहमा विभाजन गरेरसमेत अध्ययन गर्ने गरिन्छ ।
आर्थिक वर्ष २०८२/८३ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः १.६३ प्रतिशत, ५.७७ प्रतिशत र ४.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । संशोधित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः ३.०१ प्रतिशत, ३.४० प्रतिशत र ४.३६ प्रतिशत छ । आर्थिक वर्ष २०८०/८१ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः ३.११ प्रतिशत, ०.०६ प्रतिशत र ४.४९ प्रतिशत कायम भएको छ ।



