लगानी परियोजनाको सुस्त प्रगतिमा अर्थमन्त्री वाग्लेको असन्तुष्टि
काठमाडौं । लगानी बोर्ड नेपालको अनुगमन तथा सहजीकरण समितिको १३औँ बैठक मंगलबार अर्थ मन्त्रालयमा सम्पन्न भएको छ। बैठक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा बसेको हो।
बैठकमा लगानी स्वीकृत भएका परियोजनाको ढिलो कार्यान्वयनप्रति कडा असन्तुष्टि व्यक्त गरिएको छ। अर्थमन्त्री वाग्लेले स्वीकृत ५५ आयोजनामध्ये केवल दुई वटा मात्रै निर्माण चरणमा प्रवेश गर्नु अत्यन्तै चिन्ताजनक र “लाजमर्दो अवस्था” भएको टिप्पणी गरे।
उनले विदेशी लगानी स्वीकृत भए पनि वर्षौँसम्म कार्यान्वयन नहुनु गम्भीर विषय भएको उल्लेख गर्दै यसको निर्मम समीक्षा आवश्यक रहेको बताए। ‘परियोजना स्वीकृत भएर पनि काम अघि नबढ्नुमा दोषी को हो भन्ने स्पष्ट हुनुपर्छ, आवश्यक परे कानुन वा कार्यप्रणाली दुवै पुनरावलोकन गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने। अर्थमन्त्री वाग्लेले समस्याको स्पष्ट पहिचान तत्काल गर्न निर्देशन दिँदै आगामी १४औँ बैठकसम्म ठोस प्रगति नदेखिए कठोर निर्णय लिनुपर्ने चेतावनीसमेत दिए। उनले लगानी सहजीकरणका लागि गठन गरिएको शक्तिशाली निकाय नै प्रभावहीन देखिनु गलत सन्देश गएको टिप्पणी गरे।
बैठकमा कम्तीमा १० वटा परियोजनामा तत्काल प्रगति देखिनुपर्ने अपेक्षा पनि राखिएको छ। साथै केही ‘फेन्सी’ आयोजना पुनरावलोकन गर्नुपर्ने विषयसमेत उठाइएको थियो।
प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले विकास परियोजनाको अवस्था अत्यन्तै कमजोर रहेको उल्लेख गर्दै अवरोधका कारण, जिम्मेवार निकाय र व्यक्तिको स्पष्ट पहिचान गरेर तत्काल समाधान गर्नुपर्ने बताए। उनले अब कडाइका साथ अनुगमन हुने संकेत पनि गरे।
त्यस्तै, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बोर्डमार्फत स्वीकृत तथा सहजीकरण भइरहेका आयोजनाको अवस्था, कार्यप्रगति र अघिल्लो बैठकका निर्णय कार्यान्वयनबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए।



