जितको उन्मादमा सामाजिक सञ्जालमा जथाभाबी लेखे कारबाही गर्ने रास्वपाको चेतावनी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचनको नतिजा आउँदै गर्दा जितको उन्मादमा सामाजिक सञ्जाल लगायतका माध्यममा जथाभाबी नलेख्न र संयमित रहन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।
पार्टीको केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालद्वारा शनिबार जारी विज्ञप्तिमा यस्तो निर्देशन दिइएको हो। विज्ञप्तिमा भनिएको छ, ‘जनताको अभिमतलाई उच्च मूल्याङ्कन गरी पूर्ण विश्वासका साथ जनादेशलाई ‘विजय उन्माद’ को रूपमा नलिई जिम्मेवारीप्रति पूर्ण बफादार रहँदै जबाफदेहीपूर्ण कार्य सम्पादन गर्नु हाम्रो कर्तव्य हुन आउँछ।’
निर्वाचनको मत परिणाम आइरहँदा पार्टीका विभिन्न पङ्क्तिबाट सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमहरूमा अनावश्यक टीकाटिप्पणी र गतिविधिहरू बढेको महसुस भएको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आयोगले त्यस्ता अवाञ्छित कार्यहरू नगर्न र नगराउन सम्पूर्ण पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ।
रास्वपाको अनुशासन आयोगले निर्देशनको अवज्ञा गरे कारबाही गर्ने चेतावनी समेत दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता गतिविधिहरू भए गरेको कहीँकतै भेटिएमा पार्टीको विधान, कार्यविधि, आचारसंहिताका आधारमा आवश्यक कारबाही हुनेतर्फ आयोगले सम्पूर्णमा सचेत गराउँदछ।’
आयोगले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्दै सभ्य र अनुकरणीय राजनीति गर्नु सबैको कर्तव्य भएको स्मरण गराउँदै पार्टीको आधिकारिक निर्देशन बेगर कुनै पनि कार्य नगर्न आग्रह गरेको छ। साथै, निर्वाचनको पूर्ण परिणाम नआउन्जेल धैर्यधारण गर्न पनि कार्यकर्ताहरूलाई अनुरोध गरिएको छ।




