विनाेद चौधरीले सार्वजनिक गरे तीन वर्षे कार्यकालको रिपाेर्ट कार्ड
काठमाडौं । पश्चिम नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं. १ बाट प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उमेदवार बनेका विनोद चौधरीले आफ्नो तीनवर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका छन्।
२०७९ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएपछि चौधरीले जारी गरेको ३१ बुँदे घोषणापत्रमा चौधरीले मतदाताको प्रश्न गर्ने अधिकारलाई लोकतन्त्रको मूल आधार भन्दै आफू जनताको अदालतमा जवाफदेही भएर उभिन तयार रहेको बताएका छन्।
‘प्रश्न सोध्न पाउनु मतदाताको अधिकार हो । गएको निर्वाचनमा मैले जारी गरेको प्रतिबद्धतापत्रअनुसार काम भयो कि भएन भनेर प्रत्येक मतदाताले मलाई सोधून् भन्ने चाहन्छु। जनताको अदालतमा उभिएर मैले गरेका प्रतिबद्धताको एक–एक जवाफ दिनु मेरो जिम्मेवारी हो । प्रश्न सोध्न पाउने जनताको अधिकार स्थापित गर्न हामीले कांग्रेस बदलेका हौँ । देश बदल्छौँ भनेर बाचा गरिरहँदा जनताका प्रश्नको जवाफ दिन सक्ने गरी काम गर्नुपर्छ भन्ने पनि बुझेका छौँ । त्यसैले मैले ३१ बुँदे घोषणापत्रको एक–एक बुँदाको उत्तर लिएर आएको छु,
चौधरीका अनुसार, उक्त ‘रिपोर्ट कार्ड’को डिजिटलप्रति सार्वजनिक गरिएको छ भने प्रिन्ट कपी उनको सचिवालय, नेपाली कांग्रेसको क्षेत्रीय कार्यालय, प्रत्येक पालिका कार्यालय तथा निर्वाचन क्षेत्रका ३४ वटै वडाका सम्पर्क कार्यालयमा उपलब्ध हुने चौधरीको सचिवालयले जनाएको छ । उनले मतदातालाई प्रतिवेदन अध्ययन गर्न र कुनै जिज्ञासा भए टोल–टोलमै पुगेर प्रश्न गर्न आग्रह गरेका छन् ।




