लाभांशसम्बन्धी सूचना डिजिटल माध्यमबाट अनिवार्य रूपमा उपलब्ध गराउन नेप्सेको निर्देशन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत सबै कम्पनी, सामूहिक लगानी कोष तथा सेयर रजिस्ट्रार कम्पनीलाई सेयरधनी र लगानीकर्तालाई लाभांशसम्बन्धी सूचना अनिवार्य रूपमा डिजिटल माध्यमबाट उपलब्ध गराउन निर्देशन दिएको छ।
नेप्सेले शुक्रबार सबै सूचीकृत कम्पनी तथा सेयर रजिष्ट्रार कम्पनीहरूलाई निर्देशन जारी गर्दै सेयर, सामूहिक लगानी कोष तथा ऋणपत्रधनीलाई लाभांशसम्बन्धी सूचना डिजिटल माध्यमबाट अनिवार्य रूपमा उपलब्ध गराउन भनेको हो ।
नेप्सेका अनुसार कम्पनी तथा सामूहिक लगानी कोषहरूले इमेल र एसएमएसमार्फत स्टक सिम्बोल, लाभांश वितरण हुने आर्थिक वर्ष तथा लाभांशको दर र प्रतिशत स्पष्ट रूपमा जानकारी गराउनुपर्नेछ । ऋणपत्रको हकमा भने सिम्बोल, सम्बन्धित आर्थिक वर्ष र ब्याजदर उल्लेख गरी सूचना पठाउनुपर्ने व्यवस्था गरिएको छ ।
नेप्सेको यो निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन भएमा लगानीकर्ता तथा सेयरधनीले आफ्नो लगानीसँग सम्बन्धित लाभांशको जानकारी समयमै र सहज रूपमा प्राप्त गर्न सक्ने विश्वास गरिएको छ । यसले सूचना प्रवाहलाई पारदर्शी बनाउँदै सेयरधनीको पहुँच थप सहज बनाउने नेप्सेको अपेक्षा छ ।




