नबिल इन्भेस्टमेन्ट उत्कृष्ट सेवा प्रदान गर्दै १६औँ वर्षमा प्रवेश
काठमाडौं । नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडले १५ वर्षसम्म उत्कृष्ट सेवा प्रदान गर्दै आजबाट औपचारिक रूपमा १६औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आज माघ २३, २०८२ मा काठमाडौंको नक्सालस्थित नारायणचौर परिसरमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।
२०६६ साल माघ महिनामा स्थापना भएको नबिल इन्भेस्टमेन्टले नेपालको पूँजी बजार तथा लगानी व्यवस्थापन क्षेत्रमा निरन्तर र प्रभावकारी योगदान दिँदै आएको छ । स्थापनादेखि हालसम्म संस्थाले व्यावसायिकता, सुशासन, पारदर्शिता र ग्राहक–केन्द्रित सेवामार्फत उच्च संस्थागत विश्वास निर्माण गर्न सफल भएको जनाएको छ ।
बदलिँदो वित्तीय परिवेशसँग आफूलाई निरन्तर परिमार्जन गर्दै नबिल इन्भेस्टमेन्टले दीर्घकालीन मूल्य सिर्जनालाई केन्द्रमा राखी विभिन्न लगानी, मर्चेन्ट बैंकिङ्ग तथा परामर्श सेवाहरू प्रदान गर्दै आएको छ । मर्चेन्ट बैंकिङ्ग अन्तर्गत निष्काशन तथा बिक्री प्रबन्धन, डिपी सेवा, शेयर रजिष्ट्रार, शेयर प्रत्याभूति लगायतका सेवा प्रदान गर्दै आएको संस्थाले इन्भेस्टमेन्ट बैंकिङ्गतर्फ लगानी व्यवस्थापन, सामूहिक लगानी कोष तथा संस्थागत परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको छ ।
यसका अतिरिक्त कर्पोरेट एडभाइजरी सेवाअन्तर्गत पुनर्संरचना, मूल्याङ्कन, व्यवसायिक योजना, लोन सिन्डिकेशन, सम्पत्ति व्यवस्थापन, मर्जर तथा एक्विजिसन र लगानी सम्बन्धी परामर्श सेवा समेत प्रदान गरिरहेको छ । संस्थाले निकट भविष्यमा विशिष्टिकृत लगानी कोष अन्तर्गत प्राइभेट इक्विटी फण्ड सञ्चालन गर्ने तयारी पनि गरिरहेको जनाएको छ ।
१५औँ वर्षको उपलब्धिलाई संस्थागत गौरवका रूपमा मनाउँदै नबिल इन्भेस्टमेन्टले आगामी दिनमा पनि नवीन सोच, सुदृढ जोखिम व्यवस्थापन, प्रविधिमैत्री प्रणाली र दिगो लगानी अभ्यासमार्फत नेपाली पूँजी बजारको विकासमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, संस्थाले आफ्ना ग्राहक, नियामक निकाय, सञ्चारकर्मी, संस्थापक कम्पनी र शुभचिन्तकहरूप्रति आभार व्यक्त गरेको छ ।




