सिन्धु विकास बैंक १ करोड ५४ लाख रुपैयाँ घाटामा
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। जसअनुसार चालू आवको पुस मसान्तसम्म बैंक खुद घाटा बेहोरिरहेको हो।
गत आवको पुस मसान्तसम्म ४ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको बैंक चालू आवको पुस मसान्तसम्म भने १ करोड ५४ लाख रुपैयाँ खुद घाटामा पुगेको वित्तीय विवरणले देखाएको छ। बैंकको खुद ब्याज आम्दानी भने ५ करोड ६६ लाख रुपैयाँबाट बढेर ५ करोड ८८ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ६ करोड ४८ लाख रुपैयाँबाट बढेर ६ करोड ९९ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी गत आवको पुस मसान्तसम्म बैंकले सञ्चालन खर्च बापत ८ करोड १४ लाख रुपैयाँ खर्च गरेकोमा चालू आवको पुस मसान्तसम्म सञ्चालन खर्च बापत ८ करोड ३६ लाख रुपैयाँ खर्चिएको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन ६ करोड ९५ लाख रुपैयाँबाट १ करोड ५५ लाख रुपैयाँ ऋणात्मक हुन पुगेको छ।
बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ५.५० रुपैयाँ ऋणात्मक रहेको छ। बैंकको निष्क्रिय कर्जा ९.०६ प्रतिशतबाट घटेर ६.३९ प्रतिशतमा झरेको छ भने प्रतिशेयर नेटवर्थ ९४.१९ रुपैयाँ रहेको छ।
चुक्ता पूँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा २२ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने रिजर्भ कोषमा १ करोड ९६ लाख रुपैयाँ सञ्चिति रहेको छ। बैंकले ३ अर्ब २५ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरी ५ अर्ब ६६ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।



