सिंगो कांग्रेस भृकुटीमण्डपमा छ, सभापतिलाई बुझाउन सकिएन: गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सिंगो कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा रहेको बताएका छन् ।
तर, यस विषयमा आफूले सभापति शेरबहादुर देउवालाई बुझाउन नसकेको उनले बताए । बुधबार केन्द्रीय समिति बैठकले कारबाही गरेपछि विशेष महाधिवेशन हललाई सम्बोधन गर्दै थापाले भने, ‘विशेष अधिवेशन आयोजना हुँदा सिङ्गो पार्टी एक ठाउँमा उभ्याउन लागेका थियौं, लाग्छौं । २४८८ जनाले हक प्रयोग गरेर यो अधिवेशन आयोजना भएको हो । म यहाँ पाहुना भएर आएको हो ।’
उनले आफूलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरेको भन्ने कुरामा कुनै सत्यता नरहेको समेत बताए ।
‘दु:खका साथ भन्नुपर्छ, सिंगो कांग्रेस पार्टी भृकुटीमण्डपमा आइपुगेको छ । देशभरका साथीले हेरिरहनुभएको छ’, थापाले भने, ‘पार्टीको नेतृत्वले यसलाई गम्भीरता पूर्वक लिँदै लिएन । मेरो कुरा त बुझ्दै बुझेन । मैले बुझाउन सकिनँ । मेरो क्षमताले भ्याएन ।’



