जेठमा चुनाव सार्नु उपयुक्त हुने डा. अधिकारीको सुझाव
काठमाडौँ । फागनु २१ गतेका लागि तय गरिएको चुनाव सारेर २०८३ जेठ महिनाको पहिलो हप्तामा गर्नुपर्ने सुझाव प्राज्ञिक क्षेत्रबाट आएको छ ।
काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागका प्रमुख प्रा.डा. निर्मलमणि अधिकारीले २०८२ फागुनमै चुनाव गर्नु उपयुक्त नभएकाले चुनाव सार्नका लागि राष्ट्रिय सहमति जुटाउनुपर्ने बताएका छन् । ‘चुनाव हुनुपर्छ तर चुनाव मात्रै एउटा मात्र विकल्प होइन,’डा. अधिकारीले भने,‘चुनाव हुनुभन्दा पहिल्यै समाधान गर्नुपर्ने धेरैवटा मुद्दाहरू छन् ।
समस्या समाधान सहित चुनाव गर्ने हो, फगत् चुनावका लागि चुनाव मात्रै गर्ने होइन । चुनाव केही समय सारेर गर्दा पनि हुन्छ।’ चुनाव सार्नुपर्ने कारणहरुमा अधिकारीले जेनजीका कतिपय अपरिहार्य माग चुनावभन्दा पहिले सम्बोधन गरिनुपर्ने किसिमका रहेको र त्यसका लागि पर्याप्त समय चाहिने, चुनावको तयारी नपुगेको, फागुनमा हिमाली क्षेत्रमा मौसम प्रतिकूल हुने र चुनाव अगावै हुनुपर्ने पार्टीहरूका महाधिवेशनका लागि पनि समय चाहिएको उल्लेख गरेका छन् । सुरक्षा निकायको मनोबल स्थापित हुनका लागि पनि केही समय दिनुपर्ने उनको तर्क छ ।
