“पारदर्शिता माग्ने तेस्रोलिंगीमाथि ब्लु डायमण्डको यातना”
बच्चालाई थाहा नहोस् भन्ने चाहना थियो। काठमाडौँ आएर बच्चाको जन्म दर्ता गराउन सरकारी निकायमा बिन्ती चढाएकी थिइन्। बच्चाले बुबा–आमाकै व्यवहार गर्दै आएको छ, एउटै परिवारजस्तै भएर बस्दैछन्।
डेढ महिना उमेरको बच्चा उनले ग्रहण गरेकी थिइन्। अहिले बच्चा दुई वर्षको भइसकेको छ। जन्म दर्ताका लागि कानुनी प्रक्रिया अघि बढाउँदै थिइन्।
बच्चाका बुबा–आमा दुवै थिएनन्। एक जना महिलाले फेसबुकमा “बेवारिसे बच्चाको लालन-पालन गर्न इच्छुकले सम्पर्क गर्नुहोस्” भनेर लेखेकी थिइन्। सोही पोस्ट देखेपछि सम्पर्क गरी उनले बच्चा ग्रहण गरेकी थिइन्। तर, बच्चा दुई वर्ष पुग्दा भने उनले चोरीको आरोप खेप्नुपर्यो।
अरू कसैले होइन, बच्चाको पास्नीमा आएर मासुभात खाएका व्यक्तिहरूबाटै उनले दुःख भोग्नुपर्यो। ती व्यक्तिहरू बच्चाको चोरेको आरोप लगाएर उनीबाट बच्चा छुटाउन चाहन्थे। बच्चालाई अनाथालयमा पुर्याउने प्रपञ्च रचे। “म मेरो सम्पूर्ण सम्पत्ति दिएर बच्चा आफ्नै साथमा राख्छु” भनेपछि तिनीहरूलाई डाहा लागेछ, र बच्चा चोरेको उजुरी दिएछन् उनले भनिन्।
बेवारिसे बच्चा ग्रहण गरेकी थिइन उनले। तर आरोप चोरीको खेप्नु पर्यो। त्यो पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको नाममा समुदायमाथि नै शोषण भइरहेको विरुद्ध आवाज उठाउँदै आएकी नुमा लिम्बु चञ्चलाले।
उनी बच्चाको भविष्य सोच्दै थिइन्, तर परिस्थिति उल्टियो।
केन्द्र तहदेखि नै “बच्चा चोरेकी” भनेर फलो गरिएको रहेछ। नेपाल प्रहरीको महिला, बालबालिका शाखाबाट ताकेता गरिएको चञ्चलालाई दमक प्रहरी कार्यालयले दियो। उनले उजुरीकर्ताको पहिचान पनि गरिन्। ती बच्चासँग कुनै सम्बन्ध नराख्ने तर समुदायकै नाममा समुदायमाथि शोषण गर्ने व्यक्ति थिए।
चञ्चलाले बच्चाको जन्म दर्ताका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेश कुमार केशरीसँग प्रक्रिया सोधेकी थिइन्। उनले अदालतबाट आदेश लिएर आएपछि मात्रै जन्म दर्ता हुने सुझाव दिएका थिए।
काठमाडौँमा उनी आफू जस्ता लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूका हक–अधिकारका लागि सक्रिय थिइन्। ब्लु डायमन्ड सोसाइटीले गर्न नचाहेका, तर समुदायबाट खोसिएका अधिकार फिर्ता ल्याउन उनी सङ्घर्षरत थिइन्।
सोसाइटीका संस्थापक अध्यक्ष सुनिल बाबु पन्तसँगै अधिकार प्राप्तिको अभियानमा होमिएकी थिइन् उनी। सोसाइटीभित्र पारदर्शिता र जबाफदेहिताको माग गर्दै आएकी थिइन उनी। गत साउन १४ गते धुम्बाराहीस्थित सोसाइटीको कार्यालयमा समुदायका सदस्यहरूले प्रहरी उपस्थितिमा गरेको छलफलमा सोसाइटी कब्जा गरेको समूहले तत्काल सदस्यता खुला गर्ने, साधारणसभा बोलाउने, पाँच वर्षको लेखापरीक्षण र प्रगति प्रतिवेदन सार्वजनिक गर्ने सहमति जनाएको थियो। तर हालसम्म तीमध्ये कुनै पनि काम गरेको छैन।
त्यसपछि, कब्जा गरेको समूहले सहमति कार्यान्वयन नगरेपछि काठमाडौँमा रहेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको वृहत् भेला गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा छानबिनको मागसहित उजुरी दियो।
प्रशासनले दुवै पक्षलाई बोलायो, तर कब्जा गरेको समूह उपस्थित भएन। उपस्थित भएकाहरूले भने प्रशासनको रोहबरमा सहमति पत्रमा हस्ताक्षर गरे। साधारण सदस्य खुलाएर साधारणसभा गर्ने सहमति भएको पनि तीन महिना भइसकेको छ, तर कब्जावाल समूहले सदस्यता नै खुलाएको छैन।
ब्लु डायमन्ड सोसाइटीलाई स्वार्थ समूहको चङ्गुलबाट फुत्काउने प्रयासमा रहेकी चञ्चलाविरुद्ध नै उनीहरूले बच्चा चोरीको झूटो आरोप लगाएर दुख दिने नियत बनाए। यदि चञ्चलाको नियत नै गलत हुने भए, उनी मनिषा ढकाल र सञ्जय शर्माविरुद्ध पनि जान सक्थिन् किनकि बैंककमा उनको सेक्स चेन्ज सर्जरीका बेला अभिभावकका रूपमा रहेका थिए, मनिषा र सञ्जय।
डोनरहरूले प्रश्न उठाएपछि उपाध्यक्षलाई अध्यक्ष बनाएको बहानामा समुदायका सदस्यलाई धम्क्याउने, शेयर भर्न लगाएर समुदायकै पैसा गायब बनाउने संजिव गुरुङ (पिंकी), मनिषा, सञ्जय, प्रकाश निरौला र उमेश श्रेष्ठसहितको स्वार्थ समूहले नै बच्चालाई अनाथालयमा पुर्याउन चञ्चलामाथि बच्चा चोरेको उजुरी दिएका हुन् भन्ने आधार देखिन थालेको चञ्चलाको भनाइ छ।
तर, प्रहरीले उजुरीकर्ताको नाम भने गोप्य राख्यो, सार्वजनिक गरेन, उनले भनिन्। “तेस्रोलिंगी भनेको नागरिकता महिलाको रैछ नि भनेर सोधेँ,” चञ्चलाले प्रहरी कार्यालयमा आफूलाई गरेको प्रश्न सम्झिन्। उनले भनिन्, “मैले चाहेर पनि बच्चा जन्माउन सक्दिन, बुबाआमा नभएको बेवारिसे बच्चा ग्रहण गरेर पाल्छु, श्रीसम्पत्ति सबै उसैको नाममा गरिदिन्छु भने अरूलाई किन टाउको दुख्ने?”
तेस्रोलिंगी भएर समाजले दिइरहेको पीडा कम थिएन, त्यसमाथि आफ्नै समुदायभित्रका मानिसबाट बज्र प्रहार झेल्नु पर्यो भन्ने चञ्चलाको गुनासो छ। उनले भनिन्, “यो सबै भ्रष्टाचार लुकाउन रचिएको चाह हो। के म बच्चा चोरेकी हुँ? बिना आधार र प्रमाण प्रहरीमा उजुरी गर्नेविरुद्ध कानुनी कारबाही गर्ने तयारीमा छु।”
पारदर्शिताको माग गर्नेहरूलाई बदला लिन खोज्ने ब्लु डायमन्ड सोसाइटी कब्जा समूहले धम्की दिन थालेको चञ्चलाले बताइन्। धर्मसन्तान राख्ने अधिकारका लागि सङ्घर्ष गरिरहेका समुदायकै सदस्यमाथि उजुरी हालिएको र धम्की दिइएको उनको भनाइ छ।
राज्यका निकायहरू निष्क्रिय भएको मौका छोपी सोसाइटी कब्जा समूहले पीडितलाई थप यातना दिँदा समुदायमै आक्रोश फैलिएको उनले बताइन्।
नेपालमा धर्मसन्तान ग्रहण गर्ने चञ्चला लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायभित्र एक्लो उदाहरण होइनन्। समुदायका अन्य सदस्यहरूले पनि धर्मसन्तान ग्रहण गरी पालन–पोषण गर्दै आएका छन्। तर, समुदायका सदस्यले धर्मसन्तान ग्रहण गरेर लालनपालन गरे पनि, तिनीहरूको कानुनी हैसियत अझै स्पष्ट छैन।
नेपालमा बालबालिकाको हकसम्बन्धी ऐन, २०७५ र मुलुकी देवानी संहिता, २०७४ अनुसार धर्मसन्तान ग्रहण गर्न पाइने व्यवस्था छ, तर त्यसका लागि अदालतको आदेश र कानुनी अभिलेख आवश्यक पर्छ।
विवाह नगरी वा तेस्रोलिंगी परिचय भएका व्यक्तिले पनि कानुनले निर्दिष्ट सर्तहरू पूरा गरे धर्मसन्तान राख्न पाउने अधिकार राख्छन्।
यस्तै कानुनी पृष्ठभूमिमा, समुदायले पालनपोषण गरेका धर्मसन्तानको कानुनी अधिकारका लागि पहल होला भन्ने अपेक्षामाथि ब्लु डायमन्ड सोसाइटीले तुसारापात गरेको छ। ब्लु डायमन्डभित्रको सत्य–तथ्य र पारदर्शिता माग गर्दै आएकी चञ्चलालाई संस्थामाथि कब्जा जमाएको समूहले अहिले अनावश्यक दुःख र मानसिक दबाब दिएको पाइएको छ।
ब्लु डायमन्डका पिटर राईले चञ्चलाले बच्चा एडप्ट गरेको विषय सार्वजनिक गरिदिएका छन्। तर यो कुरा चञ्चलाले गोप्य राखेकी थिइन् – कारण, बच्चाको बालअधिकार र निजताको हनन नहोस् भन्ने उनको चाहना थियो। समुदायभित्र धर्मसन्तान ग्रहण गर्ने अभ्यासलाई संवेदनशील र कानुनी दृष्टिले सुरक्षित बनाउनुपर्नेमा, उल्टै संस्थाभित्रकै व्यक्तिबाट निजी जानकारी सार्वजनिक गरिनु चञ्चलामाथिको नैतिक आक्रमणको रूपमा हेरिएको छ।
नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यलाई पनि धर्मसन्तान ग्रहण गर्ने कानुनी अधिकार छ, तर त्यसको व्यवहारिक कार्यान्वयन र सामाजिक स्वीकृति अझै सुनिश्चित भएको छैन। चञ्चलाजस्ता अग्रणी व्यक्तिमाथि संस्थागत प्रतिशोधले समुदायकै अधिकार आन्दोलनलाई कमजोर बनाइरहेको देखिन्छ।
समुदायभित्र व्यङ्ग्यात्मक टिप्पणी चल्न थालेको छ “बेवारिसे बच्चा हुर्काउने तेस्रोलिंगीमाथि बच्चा चोरेको आरोप लगाउने ब्लु डायमन्डको महानता अद्भुत रहेछ।” धर्मसन्तान राख्न पाउने कानुनी अधिकारको माग गर्दै आएका अभियन्तामाथि नै पिंकी, मनिषा, सञ्जय, प्रकाश, उमेश र सिमरन शेरचन नेतृत्वको समूह खनिएको छ, जसले आफ्ना गलत काम लुकाउन विरोधीहरूलाई लक्ष्य बनाएको देखिन्छ।
संस्थागत सुशासन र पारदर्शिताको माग गर्नेहरूलाई “भ्रष्टाचार गर्न पाउनुपर्छ, अरूलाई हेप्नुपर्छ, दुख दिनुपर्छ, नबोलेरै हैरानी दिनुपर्छ” भन्ने सोचले चल्ने समूहले झुटा आरोपमार्फत बदला लिने अभियान चलाएको चञ्चलाको आरोप छ।
“सारै दुख दिए, कस्ता नहुनेहरू,” उनले व्यथित स्वरमा भनिन्। “के तेस्रोलिंगीले बच्चा एडप्ट गर्न नपाउने ब्लु डायमन्डको नीति हो? राख्न नदिने हो?”
चञ्चला एक समय युएसएआइडीको परियोजनामा झापा दमकमा कार्यरत थिइन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परियोजना बन्द गर्ने घोषणा गरेपछि सो बहानामा उनलाई निकालिएको थियो। तर, ब्लु डायमन्डले भने त्यही परियोजनाको नाममा कर्मचारीका लागि भनेर युएसएआइडीबाट ८ करोड रुपैयाँ लिएको चञ्चलाको दाबी छ। जुन कुरा मनिषा, प्रकाशले पनि प्रहरीको उपस्थितिमा स्वीकारेका छन् पैसा आएको भनेर।
“म सोध्छु युएसएआइडीले दिएको ८ करोड कहाँ गयो?” उनले प्रश्न गरिन्। तर, जवाफ दिनुको सट्टा सोसाइटीले युएसएआइडीले दिएको धन्यवाद पत्र मात्र सार्वजनिक गर्यो। हालसम्म सो रकमको हिसाब सार्वजनिक गरिएको छैन।
नेपालका अधिकांश गैरसरकारी संस्थाले वार्षिक लेखापरीक्षण प्रतिवेदन वेबसाइटमा राखेर सार्वजनिक गर्दै आएका छन्। तर, ब्लु डायमन्डले चलिरहेको वेबसाइट नै बन्द गराएको छ। राज्यका निकायमार्फत सूचना माग्दा पनि लेखापरीक्षण प्रतिवेदन नदिई लुकाउने गरेको चञ्चलाको आरोप छ। “उनीहरूलाई त राज्यका निकायबाट जस्तोसुकै गैरकानुनी काम गर्न पनि छुट पाएको जस्तो देखिन्छ,” उनले भनिन्।
