राष्ट्रिय झण्डा दुरुपयोग रोक्न १५ जनाको अपिल
काठमाडौं । चन्द्रसूर्य अंकित नेपालको राष्ट्रिय झण्डा दुरुपयोग रोक्न नागरिक स्तरबाट सरकारसँग माग गरिएको छ । राष्ट्रिय झण्डाको व्यापक दुरुपयोग हुन थालेपछि त्यसलाई रोक्न नागरिक स्तरबाट माग गरिएको हो ।
१५ जना प्रतिष्ठित नागरिकहरुले यस्तो माग गरेका हुन् । उनीहरुले हालैका आगजनी, तोडफोड, डकैती, चोरी जस्ता घटनामा पक्राउ परेकाहरुले राष्ट्रिय झण्डा ओढेर त्यस्तो दुष्कर्म गरेका रहेछन् भने उनीहरुलाई झण्डा दुरुपयोग गरेकोमा पनि थप कारवाही हुनुपर्ने माग गरेका छन् ।
राष्ट्रिय झण्डा देखाएर जनतालाई भावनात्मक ब्ल्याकमेलिङ गर्दै आफ्नो निहित राजनीतिक स्वार्थ पूर्ति गर्न खोजिएको उनीहरुले एक अपिल जारी गरेर बताएका हुन् ।
अपिल जारी गर्नेमा ज्वाला कुमारी शाह, पूर्व मन्त्री, भगवती न्यौपाने, पूर्व मन्त्री, विमला विक, पूर्व राज्यमन्त्री, भैरवसुन्दर श्रेष्ठ, पूर्व सदस्य, राष्ट्रिय सभा, पार्वती रावल, पूर्व सदस्य, राष्ट्रिय सभा, पार्वती विशुंके, पूर्व सांसद् अइन्द्रसुन्दर नेम्वाङ, पूर्व सांसद्, सूर्य ढकाल, पूर्व सांसद्, हरि राजवंशी, संविधानसभा सदस्य, अफिलाल ओखडा, संविधानसभा सदस्य, गोविन्द थापा, लेखक तथा राजनीतिक विष्लेशक, प्रा.डा. योगेन्द्र गुरुङ, काठमाडौं, डा. पदम खतिवडा, काठमाडौं, सौरमराज तुलाधर, चलचित्रकर्मी र डा. सुन्दरी पोखरेल, सहप्राज्ञ, रोनाष्ट हुनुहुन्छ ।
अपिलमा लेखिएको छ– ‘राजनीतिक अभियान या चुनावमा भोट माग्न, राजनीतिक उद्देश्य परिपूर्ति गर्न राष्ट्रिय झण्डाको प्रयोग गर्नु भनेको यसको सम्मान र मर्यादा नराख्नु हो ।’
राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न आव्हान गर्दै अपिलमा लेखिएको छ– ‘राष्ट्रिय झण्डा हाम्रो एकताको प्रतिक हो, राजनीतिक विभाजनको मुद्दा तथा विषयमा राष्ट्रिय झण्डा प्रयोग गरेर आफ्ना विचार तथा मुद्दा स्थापित गर्नु किमार्थ पनि राष्ट्रिय झण्डाको सम्मान गरेको तथा मर्यादा राखेको ठहर्दैन । निहित स्वार्थ तथा कुत्सित उद्देश्य राखेर राष्टिय झण्डाको प्रयोग गर्न निषेध गरिनुपर्छ । आफ्नो निहित राजनीतिक मुद्दा स्थापित गर्न राष्ट्रिय झण्डा देखाएर, राष्ट्रिय झण्डा अगाडि सारेर जनतालाई भावनात्मक ब्ल्याकमेलिङ गर्नु अनैतिक हो ।’
राष्ट्रिय झण्डा हाम्रो एकताको प्रतिक भन्दै हो, राजनीतिक विभाजनको मुद्दामा राष्ट्रिय झण्डा प्रयोग गरेर आफ्ना विचार तथा मुद्दा स्थापित गर्नु किमार्थ पनि राष्ट्रिय झण्डाको सम्मान गरेको तथा मर्यादा राखेको नठहर्ने अपिलमा उल्लेख छ ।
निहित स्वार्थ तथा कुत्सित उद्देश्य राखेर राष्टिय झण्डाको प्रयोग गर्न निषेध गरिनुपर्ने उनीहरुको माग छ । अपिलमा भनिएको छ,– विभिन्न किसिमका राजनीतिक कार्यक्रम, आन्दोलन, विरोध प्रदर्शन, सभा तथा जथाभावी कार्यक्रममा राष्ट्रिय झण्डाको प्रयोग उचित हुन सक्दैन ।
उनीहरुले राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९ लाई कार्यान्वयन गर्न, यसलाई समयानकूल संशोधन गर्न पनि माग गरेका छन् ।
