खल्तीबाइ आइएमईका नयाँ डिजिटल सेवा सार्वजनिक
काठमाडौं । खल्तीबाइ आइएमईले डिजिटल भुक्तानी, पर्सनल फाइनान्स, डिजिटल कनेक्टिभिटी तथा लगानी सम्बन्धी सहित डिजिटल इकोसिस्टम विस्तार गरेको छ । खल्तीले फिनटेक एक्स्पो २०२६ को अवसर पारेर विभिन्न नयाँ डिजिटल सेवा सार्वजनिक गरेको हो । फिनटेक एलाइन्सले आयोजना गरेको एक्स्पोमा खल्ती कार्ड्स, ई–सिम तथा पर्सनल फाइनान्स च्यालेन्ज, खल्ती प्रो, स्ट्राइप र खल्ती स्टक हब सार्वजनिक गरिएको छ । यी सेवाले प्रयोगकर्ताको बदलिँदो आवश्यकता सम्बोधन गर्दै डिजिटल जीवनशैली, वित्तीय व्यवस्थापन तथा लगानीसम्बन्धी सुविधालाई थप सहज बनाउने लक्ष्य राखेको छ ।
तीन दिनसम्म सञ्चालन भएको एक्स्पोमा खल्तीको स्टलमा सयौँ प्रयोगकर्ताले भ्रमण गरी कम्पनीका विभिन्न सेवा तथा सुविधाबारे जानकारी लिएका थिए। कम्पनीका प्रतिनिधिहरूले नयाँ उत्पादनका विशेषता, प्रयोग गर्ने तरिका तथा उपलब्ध सुविधाबारे जानकारी प्रदान गरेका हुन् ।
प्रयोगकर्तालाई विभिन्न सेवा अनुभव गर्ने अवसर प्रदान गर्न खल्तीले एक्स्पो अवधिभर स्मार्ट डिपोजिट, कार्ड्स, एआई फिएस्टा, इन्स्योरेन्स, फ्लाइट्स, मोबाइल टपअप, डेटा प्याक, टीभी तथा आईएसपी लगायतका सेवामा क्यासब्याक, प्रोमो कोड तथा अन्य अफरहरू उपलब्ध गराएको थियो।
एक्स्पोमा सहभागी प्रयोगकर्ताहरूले खल्ती कार्ड्स, स्ट्राइप तथा पर्सनल फाइनान्स च्यालेन्जप्रति चासो देखाएका थिए । डिजिटल भुक्तानीलाई सहज बनाउने, बचत तथा व्यक्तिगत वित्त व्यवस्थापनमा सकारात्मक बानी विकास गर्न प्रोत्साहित गर्ने र प्रविधिमा आधारित नयाँ सेवा उपलब्ध गराउने कम्पनीको प्रयासलाई प्रयोगकर्ताले उत्साहजनक प्रतिक्रिया दिएका थिए।
एक्स्पोका क्रममा आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले एक्स्पोले नयाँ सेवा सार्वजनिक गर्नुका साथै प्रयोगकर्तासँग प्रत्यक्ष संवाद गरी उनीहरूको आवश्यकता बुझ्ने अवसर प्रदान गरेको बताए । उनले यस वर्ष खल्तीले भुक्तानी सेवाभन्दा अगाडि बढ्दै व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी, लगानी तथा प्रविधिमा आधारित अन्य सेवा सार्वजनिक गरेको उल्लेख गरे । नयाँ उत्पादनप्रति प्रयोगकर्ताले देखाएको उत्साह र प्रतिक्रियाले अझ सहज, उपयोगी तथा एकीकृत डिजिटल सेवा विकास गर्न प्रेरणा दिएको उनले बताए ।
आइएमई खल्तीले डिजिटल भुक्तानीलाई केन्द्रमा राख्दै बचत, लगानी, बीमा, कनेक्टिभिटी तथा दैनिक जीवनका आवश्यकतासँग सम्बन्धित सेवाहरूलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने दिशामा काम गर्दै आएको छ। नेपाल फिनटेक एक्स्पो २०२६ को अवसरमा सार्वजनिक गरिएका नयाँ सेवाहरूले इन्फिनिट पोसिबिलिटीको अवधारणाअन्तर्गत एकीकृत डिजिटल वित्तीय तथा जीवनशैलीसम्बन्धी सेवा प्रदान गर्ने कम्पनीको यात्रालाई थप अगाडि बढाएको छ।




