उपभोक्तामाथि काब्रा समूहको ठगीः टप बिस्कुटमा प्याकेट कम, पैसा पुरै असुली
काठमाडौं। सुनसरीस्थित काब्रा समूह द्वारा उत्पादन हुने ‘टप बिस्कुट’ ले उपभोक्तालाई व्यवस्थित रुपमा ठगी गरेको पाइएको छ। बजारमा उपभोक्ताको गुनासोका आधारमा थाहा हुन आएको तथ्य अनुसार,९६ प्याकेट हुनुपर्नेमा कम्पनीले मात्र ९० प्याकेट राखेर बजारमा पठाउने गरेको पाइएको हो।
काब्रा समूहको याे व्यवस्थित कर्तु बाहिरिएको हाे। हामीले काब्रा समूहका प्रतिनिधि रमन घिमिरेसँग तपाइहरूको काब्रा समूहले उपभोक्तालाई ठगी गरेको रहेछ नि ९६ प्याकेट हुनुपर्नेमा मात्र ९० प्याकेट राखेर के व्यवस्थित ठगी गर्नु भएको हो? भन्ने प्रश्नमा उनले त्यो सामान्य कुरा भएको जवाफ दिए। र उनले भने हामीले सरकारलाइ धेरै कर तिरेकै छौं,तपाइहरूले प्रमाण हेरे हुन्छ। यस्तो सामान्य कुरामा मिडिया वा जोसुकै भएपनि आफुहरूलाइ केही फरक नपर्ने बताए। यसरी उपभोक्तलाइ व्यवस्थित ठगी गर्नेमाथि अनुगमन गर्ने निकायहरुको गैरजिम्मेवारीका कारण उपभोक्ता ठगिदै आएका छन्। र उपभोक्तले पनि सामान्य भन्दै खासै चासाे नदेखाएकै कारण याे समूहलाइ थप प्राेसान भएर घिमिरे जस्ता पात्रलाइ सामान्य लागेकाे हुनसक्छ। तर याे सामान्य कुरा नभइ उपभाेक्तामाथि ठगी गर्ने नयाँ तरिका भएकाे हुनसक्ने देखिन्छ। र उनलाइ हामीले तपाइका साउकाे सम्पर्क नम्बर उपलबध गराउनु हाेस्,हामी कुरा गर्छाैं भन्दा याे सामान्य विषयमा के कुरा गर्नु भन्दै टारे तर अन्तिममा आफुसँग फाेन नम्बर नहुने बताए।
उपभोग्य वस्तुदेखि सेवा क्षेत्रमा मनपरी हुँदा आम नागरिक मारमा पदै आएका हुन्। संविधानमा लेखेर वा नीति नै बनाएपनि ती कानुन नीतिको कार्यान्वयन गर्ने मुख्य जिम्मेवार राज्यको संयन्त्रहरुले जिम्मेवारी पुरा गर्न नसक्दा आम उपभोक्ता बर्षाैंदेखि ठगिदै आएका छन्।
यससँगै उपभोक्ताले तौल तथा परिमाणमा कमी गरी प्रत्यक्ष रूपमा आर्थिक ठगी भएको बताएका छन्। लोकप्रिय मानिन्ने टप बिस्कुटको अहिले गुणस्तर समेत खस्किएको गुनासो पनि उत्तिकै सुनिन थालेको छ।
उपभोक्ताहरूका अनुसार बिस्कुट कुरकुरा नहुने,तेलिएको गन्ध आउने, र स्वाद कमजोर हुने जस्ता समस्या देखिएको बताएका छन्। यति हुँदाहुँदै पनि प्याकेटमा भने (ISO Food Safety, No Child Labour, Recycle) जस्ता लगोसहित सुरक्षित र भरपर्दो उत्पादन भनेर प्रचार गरिँदै उपभोक्तालाइ भ्रमित पारिने काम गरेको आरोप लागेको छ।
एक उपभोक्ताले भने,बाहिरबाट हेर्दा राम्रो जस्तो देखिन्छ, तर भित्र कुरा फरक छ। अब यस्तो ठगी किन सहनु,भन्दै सम्बन्धित निकायको ध्यान जान जरूरी रहेको बताएका छन्।
उपभोक्ता अधिकारकर्मीले भने यस्तो खालको व्यवस्थित ठगी गर्ने धेरै उद्योगहरू छन्,उपभोक्ताले पनि सामान्य विषय भनेर छोड्ने गर्नाले यस्ता घटनाहरू पटक पटक दोहोरी रहेका छन्। उनले यो गम्भीर लापरबाही हो,बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तत्काल अनुगमन गरी आवश्यक कारबाही गर्नु पर्ने बताए।
त्यस्तै टप विस्कुटमा समस्या देखिएपछि उपभोक्ताले कम्पनीसँग सहजै सम्पर्क गर्ने माध्याम नभएपछि टोल फ्री नम्बरमा फोन गर्दा नलाग्ने र अन्य माध्यमबाट प्रतिक्रिया नआउने गरेको गुनासो गरेका छन्।
बिस्कुटको प्याकेटमै टोल फ्री नम्बर लेखिएको छ, तर फोन गर्दा नलाग्ने, इमेल पठाउँदा जवाफ नआउने अवस्था छ, एक उपभोक्ताले भने, गुणस्तरमा समस्या हुँदा उपभोक्ताले कसलाइ भन्ने हो?
के हुन्छ कानुनी कारबाही
उपभोक्ता संरक्षण ऐन २०७५ र उपभोक्ता संरक्षण नियमावली २०७६ अनुसार यस्तो प्रकृतिको ठगीमा कडा कानुनी कारबाहीको व्यवस्था छ।
ऐनको दफा १४ अनुसार, तौल, परिमाण, नाप वा संख्यामा कमी गरी उपभोग्य वस्तु बिक्री वितरण गर्ने उत्पादकलाई पहिलो पटक दुई लाख रुपैयाँसम्म जरिवाना हुन्छ। दोस्रो पटक तीन लाख रुपैयाँसम्म जरिवाना र तेस्रो पटक पाँच लाख रुपैयाँसम्म जरिवाना तथा एक वर्षसम्म कैद हुन सक्छ।
ऐनको दफा १६ मा गुणस्तर विपरित उपभोग्य वस्तु बिक्री वितरण गर्नेलाई पहिलो पटक पाँच लाख रुपैयाँसम्म जरिवाना, दोस्रो पटक दस लाख रुपैयाँसम्म जरिवाना र तेस्रो पटक पन्ध्र लाख रुपैयाँसम्म जरिवाना तथा दुई वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ।
यसैगरी, ऐनको दफा १७ अनुसार भ्रामक सूचना वा विज्ञापन गर्नेलाई पहिलो पटक तीन लाख रुपैयाँसम्म जरिवाना, दोस्रो पटक पाँच लाख रुपैयाँसम्म जरिवाना र तेस्रो पटक दस लाख रुपैयाँसम्म जरिवाना तथा एक वर्षसम्म कैद हुन्छ।
काब्रा समूहको मामलामा परिमाण, गुणस्तर र भ्रामक विज्ञापन तीनैवटा अपराध साबित भएमा करोडौं रुपैयाँसम्म जरिवाना र कैद समेत हुन सक्ने कानुनी व्यवस्था छ। साथै, ऐनको दफा ३५ अनुसार उपभोक्ताले क्षतिपूर्ति समेत माग्न सक्छन्।
ऐनको दफा २८ मा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई उत्पादन बन्द गर्ने, उपभोग्य वस्तु जफत गर्ने, सील गर्ने र प्रतिबन्ध लगाउने अधिकार दिइएको छ। गम्भीर अवस्थामा उत्पादन इजाजतपत्र नै खारेज गर्न सकिन्छ।
त्यस्तै नेपालको संविधानले उपभोक्ताको हकलाई मौलिक हकको रूपमा स्थापित गरेको छ। उपभोक्ता संरक्षण ऐनमा कडा सजायको व्यवस्था भए पनि यसको कार्यान्वयन निकै कमजोर देखिएको छ।
काब्रा समूहको यो घटना नेपालको उपभोक्ता बजारको व्यापक समस्याको एउटा नमुना मात्र हो। खाद्य उत्पादनदेखि सेवा क्षेत्रसम्म मनपरी र ठगी निरन्तर भइरहेको छ। पेट्रोल पम्पहरूमा परिमाण घटी दिने, रेस्टुरेन्टहरूमा अतिरिक्त शुल्क लिने, औषधि पसलहरूमा म्याद नाघेको औषधि बिक्री गर्ने र दूध तथा दुग्ध उत्पादनमा मिसावट गर्ने जस्ता घटनाहरू आम भएका छन्।
सरकारले नियमित र अचानक बजार अनुगमन गर्नुपर्छ। यस्ता अपराधमा कडा कारबाही गरी सार्वजनिक गर्नुपर्छ ताकि अरू कम्पनीहरूलाई पनि पाठ सिकाउन सकियोस्। उपभोक्ता चेतना कार्यक्रम सञ्चालन गर्ने र मानवशक्ति तथा स्रोत साधन बढाउने जस्ता काम गरिनुपर्छ।
त्यसैगरी काब्रा समूहको टप बिस्कुटको यो घटना नेपालको उपभोक्ता संरक्षण प्रणालीको जटिलतालाई उजागर गर्छ। कानुन त छ, तर कार्यान्वयन छैन। संयन्त्र त छ, तर प्रभावकारिता छैन। संविधानमा हक त छ,तर व्यवहारमा उल्लंघन छ।
यो घटनाले सबै सरोकारवालाहरूलाई सचेत हुन आवश्यक छ भन्ने सन्देश दिन्छ। उपभोक्ता अब मौन रहनु हुँदैन, सरकार अब जिम्मेवार हुनुपर्छ, र कम्पनीहरू अब इमानदार हुनुपर्छ। अन्यथा, यस्ता ठगी घटनाहरू निरन्तर दोहोरिइरहनेछन्, र आम नागरिक मार खाइरहनेछन्। थप समाचार प्रकाशित गर्दै जाने छाैं।
