महालक्ष्मी विकास बैंकको चाडपर्व लक्षित योजना : क्रेडिट कार्डमार्फत टुर प्याकेज खरिद गर्न सकिने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आगामी चाडपर्वहरूलाई लक्षित गर्दै बैंकको क्रेडिट कार्ड प्रयोग गरी सहज र सुरक्षित तरिकाले टुर तथा भ्रमण प्याकेज खरिद गर्न सकिने सुविधाको सुरुवात गरेको छ । चाडपर्वहरूमा नेपालीहरू विभिन्न देशहरू घुम्न जाने प्रचलनलाई मध्यनजर गर्दै बैंकले यो योजनाको सुरुवात गरेको हो ।
सो अन्तर्गत बैंकले विभिन्न प्रतिष्ठित ट्राभल एजेन्सीहरूसँग व्यवसायिक सहकार्यको लागि सम्झौता समेत गरिसकेको छ । प्रारम्भिक चरणमा पर्यटकहरूले गुरू ट्रभाल्स लि, दरबारमार्ग र रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्स, उत्तरढोका, काठमाडौँमार्फत यो सुविधा लिन सक्नेछन् ।
सम्झौताअन्तर्गत महालक्ष्मी विकास बैंकका क्रेडिट कार्ड वाहकहरूले ट्राभल एजेन्सीमार्फत विभिन्न टुर प्याकेज खरिद गर्दा महालक्ष्मी विकास बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्नेछन् ।
साथै आफूले खरिद गरेको टुर प्याकेजको मूल्य बराबरको रकमको भुक्तानी ६ महिनादेखि १२ महिनासम्मको लचिलो अवधि रहने गरी मासिक रूपमा भुक्तान गर्न मिल्ने गरी रूपान्तरण गर्न समेत सक्नेछन् ।
आफुले खरिद गरेको टुर प्याकेजको बिल पेश गरेपश्चात महालक्ष्मी विकास बैंकले सहज रूपमा नै सो कारोबारलाई मासिक किस्तामा परिवर्तन गरिदिनेछ र यसरी मासिक किस्तामा परिवर्तन गर्दा बैंकले इएमआइ प्रोसेसिङ् शुल्क लिने छैन ।
यस कार्यको सुरुवातसँगै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न र चाडपर्वहरूलाई थप उत्साहमय र अर्थपूर्ण बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । हालै मात्र बैंकले आफ्नो मोबाइल बैकिङ्ग एप ‘महालक्ष्मी स्मार्ट साथी’मा भर्चुअल क्रेडिट कार्डको सुविधा थप गरेको छ ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरू र ८ लाख ग्राहकहरू रहेका छन् ।