जीवन बीमा कम्पनीहरुले कमाए साढे ५ अर्ब नाफा, चुक्ता पुँजीमा हिमालयन लाइफ र जगेडा कोषमा एलआइसी नेपाल अगाडि

काठमाडौं । नेपाल स्टक मार्केट (नेप्से) मा सूचीकृत १२ जीवन बीमा कम्पनीहरुले साढे ५ अर्ब नाफा कमाएका छन् । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सूचीकृत जीवन बिमा कम्पनीले समग्रमा ५ अर्ब ५० करोड ७८ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको यसै अवधिमाभन्दा १२.८६ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा यी कम्पनीहरुले समग्रमा ६ अर्ब ३२ करोड ८ लाख ८३ हजार रुपैयाँ नाफा कमाएका थिए ।
पछिल्लो समय मुद्दती निक्षेपको ब्याजदर घट्दा बीमा कम्पनीहरुको नाफा प्रभावित भएको हो । बीमा कम्पनीहरुको लगानीको ठूलो हिस्सा मुद्दती निक्षेप रहेको छ । त्यसैले मुद्दती निक्षेपको ब्याजदरको प्रत्यक्ष प्रभाव बीमा कम्पनीको नाफामा पर्छ । अहिले बैंकले मुद्दतीमा दिने ब्याजदर न्यून विन्दुमा झरेको छ । त्यसैले नाफामा पनि असार परेको देखिएको छ ।
चुक्ता पुँजीमा हिमालयन लाइफ र जगेडा कोषमा एलआइसी नेपाल अगाडि
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेप्सेमा सूचीकृत १२ जीवन बिमा कम्पनीमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी हिमालयन लाइफ इन्स्योरेन्सको रहेको छ । यसको चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ९ अर्ब २ करोड ८७ लाख ६३ हजार रुपैयाँ छ । यसअवधिमा एसियन लाइफ इन्स्योरेन्सबाहेक अरु सबै कम्पनीको पुँजी ५ अर्ब रुपैयाँ पुगेको छ । यता, सबैभन्दा धेरै जगेडा कोष हुनेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल रहेको छ । यसको जगेडा कोषमा २ अर्ब ९९ करोड ८ लाख २३ हजार रुपैयाँ छ । त्यस्तै, नेपाल लाइफ र सिटिजन लाइफ इन्स्योरेन्सको जगेडा कोष १ अर्बभन्दा धेरै रकम छ ।