चेम्बर हीरक जयन्तीमा भक्तपुरमा घिन्ताङ घिसी कार्यक्रम सम्पन्न

भक्तपुर । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसर पारेर नेपाल चेम्बर अफ कमर्स भक्तपुरले स्थानीय लायन्स क्लबहरुसँगको सहकार्यमा ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको घिन्ताङ घिसी कार्यक्रम गरेको छ ।
भक्तपुर चेम्बरले आयोजना गरेको सो कार्यक्रमको उद्घाटन नेपाल चेम्बर अफ कमर्स हीरक जयन्ती मूल समारोह समितिका सभापति तथा पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ र चेम्बरका पूर्वअध्यक्ष राजेन्द्र मल्लले संयुक्त रुपमा गरे । उद्घाटनपछि शुरु भएको घिन्ताङ घिसी कार्यक्रमले भक्तपुरको शहर परिक्रमा गर्दै परम्परागत नेवारी संगीत, नृत्य र भेषभूषा सहित उत्सवमय वातावरण सिर्जना गरेको थियो ।
हीरक जयन्ती मूल समारोह समितिका सभापति श्रेष्ठले घिन्ताङघिसी भक्तपुरको ऐतिहासिक सम्पदा, संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनमा टेवा पुर्याउने महत्वपूर्ण माध्यम भएको बताए । चेम्बरले आर्थिक विकाससँगै संस्कृतिको संरक्षणलाई पनि चेम्बरले प्राथमिकतामा राखेको स्पष्ट गरे ।
कार्यक्रममा चेम्बरका पदाधिकारी, उद्योगी व्यवसायी, लायन्स क्लबका प्रतिनिधि तथा स्थानीय समुदायको उत्साहजनक उपस्थिति रहेको थियो । सहभागीहरुले परम्परागत वाद्यवादन र नेवारी नृत्यसागै ऐतिहासिक शहर भक्तपुरलाई झन् रंगिन र जीवन्त बनाइदिएका थिए ।
भक्तपुर चेम्बर अफ कमर्सका पदाधिकारीहरुले चेम्बरको हीरक जयन्तीका अवसरमा आयोजना गरिएको यस प्रकारको सांस्कृतिक गतिविधिले स्थानीय तहमा पर्यटन प्रवर्द्धन र सामाजिक सद्भाव अभिवृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।