२२ प्रतिशतले बढ्यो विकास बैंकको नाफा

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय स्तरका विकास बैंकको नाफा औसत २२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा दुई वटा बैंकको नाफा भने घटेको छ ।
विकास बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आवमा राष्ट्रिय स्तरका विकास बैंकले पाँच अर्ब ६० करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । अघिल्लो आवको सोही अवधिमा भने बैंकहरुले चार अर्ब ५९ करोड ६२ लाख रुपैयाँ आर्जन गरेका थिए ।
गरिमा विकास बैंकको नाफा तीन गुणा भन्दा धेरैले बढेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत आवमा बैंकले एक अर्ब ३१ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको सोही अवधिमा भने बैंकले ४३ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस्तै, मुक्तिनाथ विकास बैंकको नाफा ३० प्रतिशतले बढेको छ । गत आवमा बैंकले एक अर्ब ५३ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक अर्ब १७ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको विवरणले देखाएको छ ।
शाइन रेसुङ्गा बैंकले भने गत आवमा ६८ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ०.४८ प्रतिशतले मात्रै बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ६८ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
महालक्ष्मी विकास बैंकले गत आवमा ५० करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । सांग्रिला विकास बैंकले ५३ करोड ७० लाख र कामना विकास बैंकले ६३ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
तर, ज्योति विकास बैंकको नाफा भने ९२.७४ प्रतिशतले घटेको छ । बैंकले गत आवमा एक करोड २३ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ । यस्तै, लुम्बिनी विकास बैंकको नाफा ३० प्रतिशतले घटेको छ । बैंकले गत आवमा ३७ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।