युएईका लगानीकर्ताहरूका लागि नेपालमा लगानी गर्ने उपयुक्त अवसर : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले युएईका लगानीकर्ताहरूका लागि नेपालमा लगानी गर्ने उपयुक्त अवसर भएको भन्दै नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।
संयुक्त अरब इमिरेट्स (युएई) र नेपालबीच आर्थिक सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबार काठमाडौंमा आयोजित युएई आर्थिक प्रवद्र्धन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सो धारणा राखेका हुन । नेपालले पछिल्लो समय व्यापक आर्थिक सुधारहरू गरिरहेको र लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष ढकालले तीसभन्दा बढी कानुनहरू संशोधन भइसकेको र द्विपक्षीय लगानी सम्झौता अन्तिम चरणमा रहेको अवस्थामा युएईका लगानीकर्ताहरूका लागि यो समय नेपालमा लगानी गर्ने उपयुक्त अवसर हुने धारणा राखे ।
“नेपाल अहिले स्थायित्व र सम्भावनाको चरणमा छ । उर्जा, पर्यटन, कृषि प्रशोधन र सूचना प्रविधि जस्ता क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको छ । अध्यक्ष ढकालले भने, त्यसैले युएईका लगानीकर्ताहरूका लागि अहिलेको समय नेपाल प्रवेश गर्न उपयुक्त अवसर हो । ” उनले जलविद्युत, सौर्य उर्जा, प्रसारण लाइन, रिसोर्ट, साहसिक पर्यटन, कृषि उत्पादन प्रशोधन तथा आइसीटी आउटसोर्सिङमा संयुक्त लगानीको प्रस्ताव पनि राखे ।
युएई नेपालका लागि एक विश्वासिलो मित्र रहेको र लाखौं नेपालीलाई रोजगारीको अवसर प्रदान गर्दै नेपालको सामाजिक–आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै नेपालको तर्फबाट दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाए ।
यस्तै अध्यक्ष ढकालले युएईमा कार्यरत ३ लाखभन्दा बढी नेपालीहरूलाई लक्षित गर्दै वित्तीय सेवाहरू, तालिम केन्द्रहरू र सीप विकासमा लगानी गर्न आग्रह गरे । महासंघ युएईका लगानीकर्ताहरूका लागि आवश्यक सम्पर्क, मार्गदर्शन र सहजीकरण गर्न पूर्ण रूपमा तयार रहेको उल्लेख गर्दै उनले दुबई चेम्बर अफ कमर्ससँगको सहकार्य र भविष्यमा संयुक्त सम्मेलनहरू आयोजना गर्ने योजना रहको बताए ।