गभर्नर पौडेल बीएलएसको बैठकमा सहभागी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल जुन २७ देखि २९ सम्म स्विट्जरल्याण्डको बासेलमा आयोजित ‘बैंक फर इन्टरनेशनल सेटलमेन्ट’ (बीआईएस) को ९५ औं वार्षिक बैठकमा सहभागी भएका छन् ।
सन् १९३० मा स्थापित बीआईएस एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसमा हाल ६३ वटा केन्द्रीय बैंकहरू सदस्य रहेका छन् ।
विश्वभर मौद्रिक र वित्तीय स्थायित्व कायम राख्ने उद्देश्यले स्थापित उक्त संस्थाले केन्द्रीय बैंकहरूबीचको सहकार्य र वित्तीय प्रणालीको विकास एवम् वित्तीय स्थायित्व कायम राख्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
उक्त बैठकमा बीआईएस सदस्य राष्ट्र एवं विश्वका विभिन्न देशका केन्द्रीय बैंकका गभर्नरहरू एवम् उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।
बैठकका क्रममा गभर्नर डा. पौडेल ‘क्रसबोर्डर भुक्तानी’ तथा ‘बीआईएस इनोभेसन हब सेमिनार’ विषयक अन्तरक्रिया कार्यक्रमहरूमा सहभागी भएका हुन् ।
उक्त कार्यक्रममा अन्तरदेशीय भुक्तानी प्रणालीमा केन्द्रीय बैंकहरूले गरेका उपलब्धि र सामना गर्नुपरेको चुनौती तथा केन्द्रीय बैंकमा कृत्रिम बौद्धिकताको प्रयोग र यसले बैंकिङ प्रणालीमा ल्याउन सक्ने चुनौती र त्यसलाई सम्बोधन गर्न केन्द्रीय बैंकहरूले अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्थाका सम्बन्धमा छलफल भएको थियो ।
साथै, गभर्नर डा. पौडेलले ‘नियमन र प्रतिशपर्धा’ विषयक अन्तरक्रिया कार्यक्रममा समेत सहभागिता जनाएका थिए ।
उक्त वार्षिक बैठकमा बीआईएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्सले वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए भने प्राध्यापक स् मौरिस ओब्स्टफेल्डले ‘दि इन्टरनेशनल मनिटरी सिस्टम अ फोर्क इन द रोड’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
वार्षिक बैठकका क्रममा गभर्नर डा. पौडेलले बीआईएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्ससँग भेटघाट गरेका थिए । साथै, बीआईएस, बैंकिङ विभागका प्रमुख लुइस बेङ्गोचाको नेतृत्वमा उक्त विभागका उच्च अधिकारीहरू लगायतका प्रतिनिधिहरूसँग समेत बैठक गरेका थिए ।
सो बैठकमा विदेशी विनिमय सञ्चिति लगानी विविधीकरणका लागि सुन खरिद तथा विश्वबजारमा उपलब्ध नयाँ नयाँ उपकरणहरूमा लगानी गरी विदेशी विनिमय सञ्चिति व्यवस्थापनबाट प्राप्त हुने प्रतिफल बढाउन नेपाल राष्ट्र बैंकसँग हुन सक्ने सहकार्य लगायतका विषयहरूमा छलफल भएको थियो ।
साथै, विदेशी विनिमय सञ्चितिलाई सुरक्षित, लाभदायक र प्रभावकारी व्यवस्थापन गर्न थप लगानीको अवसरका लागि आवश्यक सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो ।
यसैगरी, बैठकको क्रममा गभर्नर डा. पौडेल र पिपल्स बैंक अफ चाइनाका गभर्नर पैन गोंगशेंगबीच भेटघाट भएको थियो । सो क्रममा दुई केन्द्रीय बैंकबीच द्विपक्षीय सहयोग, बैंकिङ कारोबार एवम् भुक्तानी प्रणालीलाई सहज र प्रभावकारी बनाउनका लागि निरन्तर सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।
गभर्नर डा. पौडेलका साथ बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक गोविन्दप्रसाद नागिला र गभर्नरको कार्यालयका निर्देशक एवम् सञ्चालक समितिका सचिव शरण कुमार अधिकारीको समेत सहभागिता रहेको थियो ।