भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानको महालक्ष्मी नगरपालिकामा शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

ललितपुर । भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानको निरोगी र समतामूलक समाज निर्माण अभियानमा श्री नन्दकिशोर प्रतिभा प्रतिष्ठानलेसमेत साथ दिएको छ । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकासँगको सहकार्यमा भाष्कर-तेजश्री स्मृति प्रतिष्ठान र श्री नन्दकिशोर प्रतिभा प्रतिष्ठानले शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रमले महालक्ष्मी नगरपालिकाका सबै सामुदायिक विद्यालयका कक्षा ४-८ मा स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला अध्यापन गर्ने शिक्षकहरू र विद्यालय नर्सलाई नसर्ने रोग, रोकथाम र सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषय अध्यापन गर्ने शिक्षकहरूलाई लैङ्गिक असमानता र यौन दुर्व्यवहार रोकथामका लागि प्रशिक्षित गरेको छ । शिक्षक प्रशिक्षण कार्यक्रममार्फत नसर्ने रोग, लैङ्गिक विभेदता र यौन दुर्व्यवहारका जोखिमहरूको रोकथाम गर्न अनुसन्धान-प्रमाणित विशेष र टिप्स शैक्षिक पाठयोजना मोड्युलहरू प्रयोग गरी सबै सामुदायिक विद्यालयका शिक्षक र विद्यालय नर्सलाई प्रशिक्षण गरिएको थियो ।
रोग लागेपछि उपचार गर्नतिर लाग्नुभन्दा रोग नै लाग्न नदिन समयमै सचेत रहनुपर्छ र लैङ्गिक विभेदताका साथै यौन दुर्व्यवहार विरूद्ध सबै नागरिक जागरूक हुनुपर्छ भन्ने उद्देश्यका साथ शिक्षकलाई प्रशिक्षण दिइँदै आएको हो ।
शिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका शिक्षा निर्देशक श्री चिरञ्जीवी पौडेलले सिकाइमा भएको एउटा खाडललाई नसर्ने रोग, लैङ्गिक विभेदता र यौन दुर्व्यवहारका जोखिमहरूको रोकथाम गर्न अनुसन्धान-प्रमाणित विशेष र टिप्स शैक्षिक पाठयोजना सम्बन्धी तालिमले भर्ने काम गरेको बताए । उनले करिब ९४% विद्यार्थी निजी विद्यालयमा पढ्ने भएकोले आगामी दिनमा यसलाई नवयुवाहरू मार्फत् नै भए पनि सबै स्कुलमा विस्तार गर्नुपर्नेमा जोड दिए । त्यस्तै श्री नन्दकिशोर प्रतिभा प्रतिष्ठानका अध्यक्ष डा. नन्दकिशोर श्रेष्ठले सिकेको कुरालाई कक्षाकोठा र विद्यार्थीसम्म पुर्याउन सबै सहभगीलाई अनुरोध गरे ।
भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा अवैतनिक कार्यकारी निर्देशक प्रा. डा. रीता थापाले स्कुल नै हाम्रो समाजलाई स्वस्थ र समतामूलक बनाउने दिगो बाटो रहेको कुरामा जोड दिइन् । नगरप्रमुख श्री हरिगोविन्द श्रेष्ठले आगामी दिनमा पनि यस किसिमको तालिम दिनुपर्ने र तालिमका लागि नगरपालिका सधैँ सहकार्य गर्न तयार रहेको बताए ।
महालक्ष्मी नगरपालिकामा सम्पन्न शिक्षक प्रशिक्षण कार्यक्रममा १८ वटा सामुदायिक विद्यालयका स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला अध्यापन गर्ने १८, विद्यालय नर्स: ७ र सामाजिक अध्ययन, मानव मूल्य शिक्षा विषय अध्यापन गर्ने १८ जना गरी जम्मा ४३ जनाले नसर्ने रोग, लैङ्गिक विभेदता र यौन दुर्व्यवहारका जोखिमहरूको रोकथाम गर्न अनुसन्धान-प्रमाणित विशेष र टिप्स शैक्षिक पाठयोजना सम्बन्धी तालिम लिएका थिए ।
भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानले यसअघि झापा जिल्लाको विर्तामोड नगरपालिकामा ३७ जना, जुम्लाको चन्दननाथ नगरपालिकामा २९ जना र सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका ५७ शिक्षकहरूलाई तालिम प्रदान गरिसकेको जनाएको छ ।