राष्ट्र बैंकले ३ अर्ब ८४ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब ८४ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले विभिन्न कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्न लागि बैंकहरुसँग प्रस्ताव माग गरेको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ३ अर्ब ७ करोड ५२ लाख, राष्ट्रियस्तरका विकास बैंकहरुमा ५७ करोड ६५ लाख तथा फाइनान्सहरुमा १९ करोड २१ लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ ।
सन् २०२५ मे १७ देखि लागू हुनेगरी २०२६ मे १७ सम्म ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित वैशाख १७ गते राती १२ बजेसम्म प्रस्ताव पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।
निक्षेप राख्नका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पूरा गरेको, न्यूनतम पुँजी कोष कायम भएको, निष्कृय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्कृय कर्जा अनुपात ३ प्रतिशत ननाघेको लगायतका शर्तहरु राष्ट्र बैंकले तोकेको छ ।