७ महिनामा वाणिज्य बैंकको नाफा ३६ अर्ब, ९ बैंकको नाफा वृद्धि

काठमाडौँ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुले ३६ अर्ब ६ करोड ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् जुन अघिल्लो वर्षको माघ मसान्तको तुलनामा १.६२ प्रतिशतले मात्रै बढी हो ।
वाणिज्य बैंकहरुले व्यवसाय विस्तार गर्न भन्दा पनि पुराना ऋण उठाउनमै ध्यान दिएकाले बैंकहरुको नाफा खासै वृद्धि हुन नसकेको हो । आन्तरिक अर्थतन्त्रमा ऋण माग समेत नहुँदा समेत बैंकहरु पुराना ऋण उठाउनमै ध्यान केन्द्रित गर्दा समग्रमा बैंकको नाफा बढे पनि संख्यात्मक रुपमा हेर्दा ११ वटा वाणिज्य बैंकको नाफा गत वर्षको माघ महिनाको तुलनामा घटेको छ ।
चालु आवको माघ मसान्तसम्म वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी नबिल बैंकले ४ अर्ब १ करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकाे छ भने सबैभन्दा कम एनआईसी एसिया बैंकले ४६ करोड ४७ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेकाे छ ।
नबिल बैंक पछि क्रमशः ग्लोबल आइएमई बैंकले ३ अर्ब ८९ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४३ करोड, एभरेष्ट बैंकले २ अर्ब ५७ करोड, नेपाल बैंकले २ अर्ब ४५ करोड, एनएमबी बैंकले २ अर्ब ३५ करोड, प्राइम कमर्सियल बैंकले २ अर्ब १८ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८३ करोड, लक्ष्मी सनराइज बैंकले १ अर्ब ५८ करोड, हिमालयन बैंकले १ अर्ब ४८ करोड, सानिमा बैंकले १ अर्ब ३७ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २३ करोड र नेपाल एसबीआई बैंकले १ अर्ब ९ करोड रुपैयाँ खुद मुनाफा गरेका छन् । बाँकी बैंकहरु, माछापुच्छ्रे, सिटिजन्स, सिद्धार्थ, कृषि विकास, कुमारी र एनआइसी एसिया बैंकको नाफा भने १ अर्ब रुपैयाँ भन्दा कम रहेको छ ।
नाफा वृद्धि दरको हिसाबले सबैभन्दा ठूलो प्रगति नेपाल बैंकको रहेको छ । नेपाल बैंकले गत वर्षको माघ महिनासम्म ९५ करोड ९२ लाख रुपैयाँ मात्रै खुद मुनाफा आर्जन गरेकोमा चालु आवको माघ मसान्तसम्म २ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी गत वर्ष ९२ करोड ७६ लाख रुपैयाँ खु्द मुनाफा कमाएका प्रभु बैकले चालु आवको माघ मसान्तसम्म झन्डै शत प्रतिशतले नाफा वृद्धि गरी १ अर्ब ८३ करोड पुर्याएको छ । त्यस्तै ग्लोबल बैंकले ४५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४४.५ प्रतिशत, एनएमबी बैंकले ४१.२८ प्रतिशत, एभरेष्ट बैंकले २९.३४ प्रतिशत, नेपाल एसबीआई बैंकले २८ प्रतिशत, लक्ष्मी सनराइज बैंकले १२.८४ प्रतिशत र नबिल बैंकले शून्य दशमलब ६२ प्रतिशतले नाफा वृद्धि गरेको तथ्यांकमा उल्लेख छ ।
गत माघकाे तुलनामा सबैभन्दा नाफामा गिरावट एनआईसी एसिया बैंकको देखिएको छ । गत वर्ष २ अर्ब १४ करोड रुपैयाँ खुद मुनाफा गरेको बैंककाे चालु आवको माघ सम्ममा ७८.३१ प्रतिशतले गिरावट आई ४६ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले गत वर्ष २ अर्ब ६८ करोड रुपैयाँ खुद मुनाफा कमाएकोमा चालु आवको माघ मसान्तसम्म आधा भन्दा बढीले नाफा घटेर ८० करोडमा सीमित भएको छ । सिद्धार्थ बैंकको नाफामा ३९.७० प्रतिशत, कुमारी बैंकको नाफामा ३४.१६ प्रतिशत, हिमालयन बैंकको नाफामा १९.८६ प्रतिशत, प्राइम कमर्सियल बैंकको नाफामा १४.३१ प्रतिशत, सिटिजन्स बैंकको नाफामा ९.५३ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफामा ५.३२ प्रतिशत, सानिमा बैंकको नाफामा २.०९ प्रतिशत र माछापुच्छे बैंकको नाफामा १.२५ प्रतिशतले गिरावट आएको छ ।