जेष्ठ नागरिकलाई हवाई भाडामा अधिकतम ८० प्रतिशत छुट

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) र वायु सेवा सञ्चालकहरुबीच हवाइ भाडामा सहमति भएको छ । कात्तिक २ गते नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीहरुका प्रतिनिधिहरूबीच सम्पन्न बैठकमा भाडामा नयाँ सहमति भएको हो ।
बैठकले ७० वर्ष भन्दामाथि उमेर समूहका जेष्ठ नागरिकहरूलाई हवाई टिकटमा नेपाल सरकारद्वारा तोकिएको अधिकतम भाडादरमा सम्पूर्ण सेक्टरहरूमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ।
यस्तै, ७५ वर्षभन्दा माथि उमेर समूहका जेष्ठ नागरिकहरूलाई बुँदा १ बमोजिमको व्यहोरामा ७० प्रतिशत छुट साथै ८० वर्ष भन्दा माथि उमेर समूहका जेष्ठ नागरिकहरूलाई ८० प्रतिशत छुट व्यवस्था गर्ने निर्णय गरेको छ ।
जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुहरूको सन्दर्भमा समेत उपरोक्त अनुसारकै न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित हुनेगरी व्यवस्था गर्ने निर्णय भएको क्यानले जानकारी दिएको छ । बैठकका निर्णय आइतबारदेखि लागू हुने छ ।