मिथिला लघुवित्तको नाफासँगै घट्यो ईपीएस |
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ४२ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८.५९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ९९ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा बढी रकम छुट्याउनु परेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३०.६४ प्रतिशत घटेको छ भने फि, कमिशन तथा डिस्काउण्ट १९.७० प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २७.४५ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ७७.२५ प्रतिशत घटेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ४८ रुपैयाँ ४१ पैसा घटेर १० रुपैयाँमा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ३७ पैसा रहेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५ प्रतिशत बढेको छ भने जगेडा कोष ७.२१ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी १७.२९ प्रतिशत बढेको छ भने निक्षेप ३६.१५ प्रतिशत र कर्जा २१.७५ प्रतिशत बढेको छ।


