एसियन लाइफको १५.२६% लाभांश पारित गर्न असोज १३ गते एजीएम |
काठमाडौं । एसियन लाइफ इन्सुरेन्सले १५.२६% लाभांश प्रस्तावसहित असोज १३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले सेयरधनीलाई १४.५०% बोनस सेयर र कर तिर्न ०.७६% नगद गरी कुल १५.२६% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
सभामा कम्पनीको हाल कायम पुँजी संरचना परिवर्तन गरेर संस्थापक समूहको ५१% र सर्वसाधारण समूहको ४९% कायम गर्ने प्रस्ताव छ । हाल कम्पनीमा संस्थापक समूहको ६०% र सर्वसाधारण समूहको ४०% हिस्सा रहेको छ ।
सभामा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । प्रस्तावित बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा छ ।
सभा होटल क्लासिक सिमरा, बारामा बिहान ११.३० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले असोज ४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज ३ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


