भदौ १५ गतेदेखि श्रृजनशील लघुवित्तले आइपीओ ल्याउने |
काठमाडौं । श्रृजनशील लघुवित्तले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्नेछ । यो मध्ये ५% अर्थात् १९ हजार ६९० कित्ता सामुहीक लगानी कोष र ०.५% अर्थात् ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस ‘इस्यूअर रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।


