कालिका लघुवित्तको खुद नाफा उल्लेख्य बढ्यो |
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा उल्लेख्य बढेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १२ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३२.७२ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
निष्क्रिय कर्जा घटेपछि सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएको र उल्लेख्य खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.१३ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी २४.३२ प्रतिशत र कुल सञ्चालन आम्दानी ५.१४ प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्ममा २ करोड ६० लाख रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा गत आर्थिक वर्षको सोही अवधिसम्ममा ८ करोड ९२ लाख रुपैयाँ धनात्मक भएको छ। त्यसैगरी, सो अवधिसम्ममा लघुवित्तले ११ करोड ४८ लाख रुपैयाँ खराब कर्जा उठाएको छ।
खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २१ रुपैयाँ १८ पैसा बढेर ४१ रुपैयाँ ७ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २९.१९ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ६८ पैसा रहेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १२.७२ प्रतिशत बढेको छ भने जगेडा कोष ५१.२३ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ३७.३५ प्रतिशत बढेको छ र निक्षेप २६.८० प्रतिशत बढेको छ भने कर्जा ३०.३० प्रतिशत बढेको छ।


