महुली लघुवित्तको नाफा सामान्य बढ्यो |
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा सामान्य बढेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १० करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.७१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ९ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९.५० प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ५५.५८ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २२.४९ प्रतिशत र सञ्चालन मुनाफा २५.७८ प्रतिशत बढेको छ।
खुद नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपैयाँ ३१ पैसा घटेर ३८ रुपैयाँ ४८ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३०.०१ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ५६ पैसा रहेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २६ प्रतिशत बढेको छ भने जगेडा कोष १७.८२ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ४४.९९ प्रतिशत, निक्षेप २७.१५ प्रतिशत र कर्जा ३८.३४ प्रतिशत बढेको छ।


