अब ओटीटी चलाउन लाइसेन्स लिनुपर्ने |
काठमाडौं । इन्टरनेटमा आधारित ओभर दि टप ओटीटी सेवा सञ्चालन गर्न अनुमति पत्र लिनुपर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ल्याएको राष्ट्रिय प्रशारण संशाेधित नियमावलीमा नेपालमा ओटीटी सञ्चालन गर्न इजाजतपत्र लिनुपर्ने वाध्यकारी व्यवस्था गरिएको हो ।
ओटीटीको इजाजतपत्र लिनका लागि एक करोड रुपैयाँ शुल्क तिर्नुपर्ने नियमावलीमा व्यवस्था गरिएको छ भने ओटीटी सञ्चालनका लागि नेपालमा सर्भर राख्नुपर्ने तथा प्रसारण सामग्रीहरुको पनि वर्गीकरण गर्नुपर्ने बिषय नियमावलीमा समेटिएको छ ।
संशोधित नियमावलीको नियम २ को उपनियम १ मा ‘खण्ड (ग) मा रहेका ‘मल्टिच्यानल मल्टिप्वाइन्ट डिस्ट्रिव्यूसन सिस्टम (एमएमडीएस) भन्ने शब्दहरु पछि अनलाइन टेलिभिजन, ओभर द टप (ओटिटि) भिडियो अन डिमान्ड (भिओडी) भन्ने शब्दहरु राखिएको छ । यस अघि अनलाइन टिभी, ओटीटी र भीओडीलाई समेटिएको थिएन ।
त्यसैगरी नियमावलीमा नियामावलीमा भिओडी तथा अनलाइन टिभी सञ्चालनको अनुमतिपत्रका लागिपनि शुल्क दर तोकिएको छ ।
जसमा ओटीटी सञ्चालनका लागि इजाजतपत्र लिन एक करोड, भिओडी सञ्चालनका लागि २ लाख रुपैयाँ र अनलाइन टेलिभिजनका लागि ५ लाख रुपैयाँ रुपैयाँ शुल्क तिर्नुपर्ने नियमावलीले व्यवस्था गरेको छ ।


